
दाङ,२७ साउन ।
सल्यानमा बोलेरो जीप भेरी नदीमा खस्दा दाङका चालकसहित दुई जना बेपत्ता भएका छन्। दुर्घटनामा दुई जना घाइते भएका छन्।
बेपत्ता हुनेमा जीप चालक दाङका अन्दाजी २३ वर्षीय हेमराज बिसी र सल्यानको सिद्धकुमाख गाउँपालिका–४ का अन्दाजी ४३ वर्षीय खलबहादुर राना रहेका छन्। सल्यानका प्रहरी प्रमुख डीएसपी दीपक पातलीका अनुसार उनीहरूको खोजी कार्य जारी छ।
दुर्घटनामा परेका वनगाड कुपिण्डे नगरपालिका–१, आपखोलीका २९ वर्षीय प्रेम विक र २१ वर्षीय खुमलाल बुढाथोकी भने पौडी खेलेर ज्यान जोगाउन सफल भएका छन्। दुवै जना घाइते भएका छन्। उनीहरूको सल्लीबजारस्थित सल्ली सिटी अस्पतालमा उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।
बुधबार दिउँसो करिब साढे १ बजे वनगाड कुपिण्डे नगरपालिका–१, अम्रास्थित सडकबाट चालकसहित चार जना सवार लु १ ज ३०२२ नम्बरको बोलेरो जीप अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल भेरी नदीमा खसेको थियो।
दुर्घटनापछि बेपत्ता दुई जनाको खोजीका लागि प्रहरी टोली परिचालन गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



लाइभदाङ । २७ श्रावण २०८३, बुधबार १९:४४ बजे