
तुलबहादुर कवँर मगर
भालुबाङ, २६ साउन।
दाङको राप्ती गाउँपालिकाले किसानलाई कृषि सेवा तथा सूचना सहज रूपमा उपलब्ध गराउने उद्देश्यले ‘राप्ती कृषि एप’ सञ्चालनमा ल्याएको छ।
एपमार्फत किसानले मौसमको जानकारी, कृषि उपजको बजार मूल्य, बालीसम्बन्धी विवरण तथा पशुपालनसम्बन्धी जानकारी मोबाइलबाटै प्राप्त गर्न सक्नेछन्।
त्यस्तै, बालीमा लाग्ने रोग तथा कीराको पहिचान, त्यसको रोकथाम तथा नियन्त्रणका उपाय, कृषि प्रविधि र खेतीसम्बन्धी आवश्यक जानकारीसमेत एपबाट प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ।
आफ्ना कृषि उपज निर्यात गर्न चाहने किसानले सम्बन्धित व्यापारी तथा खरिदकर्ताको सूची हेर्न सक्नेछन्। गाउँपालिकाले प्रकाशन गरेका कृषि क्षेत्रसम्बन्धी सूचना, कार्यक्रम तथा विभिन्न सेवाका लागि आवेदनसमेत एपबाटै दिन सकिने कृषि अधिकृत प्रदीप खत्रीले जानकारी दिनुभयो।
उहाँका अनुसार एपमा किसानको विवरण डिजिटल रूपमा राखिने भएकाले गाउँपालिकाबाट सञ्चालन हुने कृषि कार्यक्रम, अनुदान तथा अन्य सेवा किसानसम्म पुर्याउन सहज हुनेछ। किसानले कृषि उत्पादन, पशुपालन, रोग–कीरा व्यवस्थापनलगायत विषयमा आवश्यक सूचना एकै ठाउँबाट प्राप्त गर्न सक्नेछन्।
एप प्रयोग गर्न मोबाइलको प्ले स्टोरमा गई ‘राप्ती कृषि’ खोजेर डाउनलोड गर्न सकिनेछ। मोबाइल नम्बरबाट खाता दर्ता गरी प्राप्त ओटीपीमार्फत खाता प्रमाणित गरेपछि आवश्यक व्यक्तिगत विवरण तथा केवाईसी फाराम भर्न सकिनेछ।



लाइभदाङ । २६ श्रावण २०८३, मंगलवार २२:०७ बजे