दाङ
२ फागुन / दाङको टरिगाउँ एयरपोर्ट विस्तारकालागि ‘खुत्रुके’ अभियान सञ्चालन गरिएको छ ।
तुलसीपुर उद्योग बाणिज्य संघले उक्त अभियान सुरु गरेको हो । एयरपोर्ट विस्तार गर्न राज्यले कुनै चासो नदेखाएको भन्दै आफूहरुले नै एयरपोर्ट विस्तार गरेर देखाउने भन्दै यो अभियान सञ्चालन गरिएको संघका अध्यक्ष रामप्रसाद चालिसेले बताए । ‘राज्यले एयरपोर्ट विस्तारमा कुनै चासो देखाएन’,उनले भने‘त्यसैले हामीले जसरी पनि यहाँको एयरपोर्ट विस्तार गरेर देखाउँछौं, त्यसकालागि जति सकिन्छ, एक रुपैँया भएपनि हाम्रो खातामा जम्मा गरिदिनुहोला ।’
एयरपोर्टको धावन मार्ग विस्तार गर्न सकिने र त्यसमा कुनै समस्या नहुँने भन्दै एयरपोर्ट विस्तारको सम्भावना रहेको उनले बताए । उनका अनुसार अहिले बन कार्यालय, त्यहाँको समुदायलगायतसंग छलफल गर्नुकासाथै प्राबिधिकसंग परामर्स गरिरहेको भन्दै केही दिनमा त्यहाँ धावनमार्ग विस्तार गरेर देखाउने तयारी रहेको छ । त्यहाँ १८ सय मिटर धावन मार्ग बनाएर देखाउने उनले बताए । त्यसकालागि संघले अहिले बिभिन्न सरोकारवालाहरुसंग छलफल तथा अन्तरक्रिया गरिरहेको छ ।
आर्थिक संकलनकालागि तुलसीपुर उद्योग बाणिज्य संघ एयरपोर्ट नाममा राष्ट्रिय बाणिज्य बैंकमा ४१६०१०००००००७००६ नम्वर खता सञ्चालनमा ल्याएको छ । खातामा स्वच्छिक रुपमा रकम जम्मा गर्न समेत अध्यक्ष चालिसेले सबैलाई अनुरोध गरेका छन् । ‘देशमा बस्ने विदेशमा बस्ने सबैले एयरपोर्ट विस्तारकालागि सहयोग गर्नुहोला’उनले भने‘हामी तपाईको सहयोगले नै एयरपोर्ट विस्तार गर्नेछौं ।’ सोही खातामा संघका अध्यक्षले ५१ हजार रुपैयाको चेक हस्तान्तरण गरेर खुत्रुके अभियान सुरु गरेका हुन् ।
सांसदहरु प्रतिबद्ध
संघले सोमबार दाङको पश्चिम क्षेत्रका सांसदहरुसंग अन्तरक्रिया गरेको छ । सोही अबसरमा सांसदहरुले प्रतिबद्धता जनाएका छन् । प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसी, राष्ट्रियसभा सदस्य कोमल वलीले एयरपोर्ट विस्तारमा हातेमालो गर्ने बताएका थिए । यस अघि राष्ट्रियसभा सदस्य जगप्रसाद शर्मा‘अपार’को नेतृत्वमा गएको दाङका सांसदहरुको टोलीले तत्कालिन पर्यटनमन्त्री योगेश भट्टराईलाई ध्यानाकर्षण गराएको थियो ।
साथै उक्त एयरपोर्ट विस्तारकालागि तीनै तहका सरकारले बिशेष ध्यान दिनुपर्ने संघका अध्यक्ष चालिसेले बताए । उनले यहाँको एयरपोर्टको धावनमार्ग ७ सय ५० मिटर लम्बाई र ३० मिटर मात्रै चौडाई हुँदा सानो जहाज मात्रै बस्दै आएको छ । सानो जहाज बस्दा ९ हजारको हाराहारीमा भाडा तिर्नुपर्ने अबस्था छ । यदि धावनमार्ग विस्तार गरे ठूलो जहाज बस्न सक्ने र सस्तो भाडामा दाङ–काठमाडौं आवतजावत गर्न सकिने अध्यक्ष चालिसेको भनाई छ । अहिले टरिगाउँ एयरपोर्टमा शुक्रबार र शनिबार बाहेक अन्य दिनमा उडान भर्दै आएको छ ।
बस २०११ सालमा उक्त विमानस्थल सञ्चालनमा आएको हो । यो बीचमा पटक–पटक बन्द हुने र सञ्चालन हुने प्रक्रिया चलिरहह्यो । जसबाट २०१३ सालदेखि २०४२ सालसम्म घाँसे मैदान छँदै दैनिक नियमित बिमान सञ्चालनभएको थियो । २०४३ सालमा बन्द भएको हवाई सेवा २०४८ सालमा फेरि सुरु भएको थियो । फेरि २०५४ सालमा बन्द भएर २०५९ पुन सञ्चालनमा आएको थियो । त्यसपछि २०६३ सालमा पुन: बन्दभएको बिमान सेवा २०७६ सालदेखि नियमित उडान भइरहेको हो ।
लाइभदाङ । २ फाल्गुन २०७८, सोमबार २२:०७ बजे