राष्ट्रियसभामा माओवादीका उम्मेदवारको टुंगो

काठमाडौँ, २२ पुष ।
नेकपा माओवादी केन्द्रले गठबन्धनबाट भाग पाएअनुसार राष्ट्रिय सभाका ६ वटै सिटमा उम्मेदवारको नाम टुंगो लगाएको छ। आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले उम्मेदवार टुंगो लगाएको हो ।

माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलका अनुसार कोशीबाट महिला कोटामा चम्मादेवी कार्की उम्मेदवार बन्दा बागमतीमा अन्यतर्फ श्रीकृष्ण अधिकारी र गण्डकीमा महिलातर्फ मनरूपा शर्मा उम्मेदवार चयन भएका छन् ।


यस्तै लुम्बिनीमा अन्यबाट झक्कु सुवेदी, कर्णालीमा दलित तर्फबाट विष्णु विश्वकर्मा र सुदूरपश्चिममा महिला कोटामा रेणु चन्दको नाम टुंगो लागेको पौडेलले जानकारी दिए । राष्ट्रिय सभामा रिक्त हुने २० मध्ये १९ पदका सोमबार मनोनयन दर्ता हुँदैछ । निर्वाचन भने माघ ११ गते हुनेछ ।