
दीपक बोहरा
दाङ, १८ साउन ।
वैदेशिक रोजगारीका लागि युरोप जाने भिसा लागेको खुसियाली मनाउन साथीहरूसँग बसेर लागु औषध (ब्राउन सुगर) सेवन गर्न लागेका चार युवालाई दाङ जिल्ला अदालतले कैद र जरिवानाको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश राजेश्वर अर्यालको इजलासले गरेको फैसलाको शुक्रबार पूर्ण पाठ सार्वजनिक गरिएको थियो । २०८१ साल फागुन १९ गते दिउँसो दाङको राप्ती गाउँपालिका वडा नं. ३ मसुरीया स्थित पुरन कामीको घरमा प्रहरीले छापा मारेको थियो । सो क्रममा राप्ती गाउँपालिका ३ का २३ वर्षीय पुरन कामी, रोल्पा घर भई भालुवाङ बस्ने छविलाल पुन मगर र गणेश बुढालाई ४५० मिलीग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिइएको थियो । प्रहरीले उनीहरूको साथबाट विभिन्न मोबाइल सेट र नगद ११ हजार ५ सय रुपैयाँ समेत बरामद गरेको थियो ।
अनुसन्धानका क्रममा गणेश बुढाको युरोप जाने भिसा लागेको खुसियालीमा साथीहरू मिलेर मादक पदार्थ सेवन गरेपछि थप मनोरञ्जनका लागि ब्राउन सुगर मगाइएको खुलेको छ । पुरन कामीले स्थानीय जिवन बहादुर भट्टराईसँग ५ हजार रुपैयाँमा उक्त लागु औषध खरिद गरी ल्याएको बयान दिएका थिए । जिवन बहादुर भट्टराईलाई पनि प्रहरीले पछि पक्राउ गरी मुद्दा चलाएको थियो ।
अदालतले प्रतिवादीहरू छविलाल पुन मगर र जिवन बहादुर भट्टराई लाई जनही ४ महिना कैद सजाय सुनाएको छ । कैद सजाय तोकिएकामध्ये छविलाल १ महिना २५ दिन र जिवन १ महिना १० दिन हिरासतमा बसिसकेकाले सो अवधि कटाएर बाँकी कैद भुक्तान गर्नुपर्ने फैसलामा उल्लेख छ । साथै, अदालतले पुरन कामी, गणेश बुढा, छविलाल पुन मगर र जिवन बहादुर भट्टराई चारै जनालाई जनही २०० रुपैयाँ अपराध पीडित राहत कोषमा बुझाउन समेत आदेश दिएको ।
बयानका क्रममा प्रतिवादीहरूले आफूहरू कारोबारी नभई साथीभाइको लहलहैमा लागेर सेवनकर्ता मात्र भएको दाबी गर्दै सुध्रने मौका पाउँ भनी जिकिर गरेका थिए । अदालतले बरामद भएको पदार्थ राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको परीक्षणबाट ‘हिरोइन’ भएको पुष्टि भएपछि यो फैसला सुनाएको हो ।



लाइभदाङ । १८ श्रावण २०८३, सोमबार २१:११ बजे