
तुलसीपुर, १४ साउन ।
तुलसीपुरस्थित ग्रेट अरनिको इङ्गलिस सेकेण्डरी स्कुलले आफ्ना विद्यार्थीमाथि भएको साङ्घातिक हमलाको विरोध गर्दै प्रेस विज्ञप्ति जारी गरी घटनाको निन्दा गरेको छ । विहीबार बिहानी सत्रको कक्षा सकेर विद्यार्थीहरूलाई पु¥याउन जाँदै गरेको रा १ ख ४६१ नम्बरको बसलाई बीच बाटोमै मोटरसाइकलमा सवार अज्ञात समूहले रोकेर खुकुरी प्रहार गरेको थियो । मोटरसाइकलमा आएका ती व्यक्तिहरूले बसभित्रै पसेर खुकुरी देखाई विद्यार्थीहरूलाई आतंकित तुल्याएको र सोही क्रममा कक्षा ११ व्यवस्थापन संकायमा अध्ययनरत छात्र नयन वलीमाथि खुकुरी प्रहार भएको विद्यालयले जनाएको छ ।
घटना लगत्तै विद्यालय प्रशासन र परिवारले घटनास्थल पुगेर आवश्यक जानकारी लिएको र घाइते छात्र वलीको स्वास्थ्य अवस्था हाल सामान्य रहेको विज्ञप्तिमा उल्लेख छ । विद्यालयले घाइते छात्रको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै शिक्षा हासिल गर्न हिँडेका नाबालिग बालबालिकाहरूलाई त्रसाउने र खुकुरी प्रहार गर्ने जस्तो निन्दनीय कार्यको कडा शब्दमा भत्र्सना गरेको छ । विद्यालयले विद्यार्थीहरूको अवस्था तथा सुरक्षाका विषयमा सम्बन्धित निकायसँग आवश्यक समन्वय र पहल सुरु गरिसकेको छ ।

विद्यालयले यो घटनामा संलग्न दोषीहरूलाई तत्काल पहिचान गरी प्रचलित कानुन बमोजिम निष्पक्ष अनुसन्धान गरी कडा कानुनी कारबाहीको दायरामा ल्याउन सम्बन्धित निकायसँग जोडदार माग गरेको छ । विद्यार्थीहरूको सुरक्षा र संरक्षणलाई आफ्नो पहिलो प्राथमिकता रहेको बताउँदै विद्यालयले सम्पूर्ण अभिभावक, शिक्षक, विद्यार्थी र शुभचिन्तकहरूलाई संयमित रहन र कुनै पनि प्रकारका अफवाह वा भ्रामक सूचनाको पछि नलाग्न अपिल गरेको छ । सुरक्षित शैक्षिक वातावरण निर्माणका लागि आफूहरू दृढ प्रतिबद्ध रहेको भन्दै कोही पनि भयभीत वा विचलित हुनु नपर्ने विद्यालय परिवारले स्पष्ट पारेको छ ।
साथै प्रहरीले खुकुरी प्रहार गर्ने दुबै जनाको पहिचान भइसकेको बताएको छ । भोलिसम्म उनीहरुलाई पक्राउ गरि सक्ने इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीले बताए ।



लाइभदाङ । १४ श्रावण २०८३, बिहीबार २१:०८ बजे