राप्तीले गरिदियो मजदुरको निःशुल्क दुर्घटना बीमा

मसुरिया, ४ साउन।
दाङको राप्ती गाउँपालिकाले मजदुरको निःशुल्क दुर्घटना बीमा गरिदिएको छ । गाउँपालिकाले ३ सय २७ जना मजदुरहरुको बीमा गरिदिएको हो । बीमा कार्यक्रममा आबद्ध हुन गाउँपालिकाले सार्वजनिक सूचना प्रकाशित गरी आवेदन आह्वान गरेको थियो ।

प्राप्त आवेदनका आधारमा मजदुरलाई बीमा कार्यक्रममा समावेश गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले गत वर्षदेखि नै मजदुरको दुर्घटना बीमा गर्दै आएको छ । दुर्घटनामा परी उपचार गर्नुपर्ने अवस्थामा बीमाअन्तर्गत प्रतिव्यक्ति १ लाख रुपैयाँसम्मको उपचार खर्च उपलब्ध हुने व्यवस्था गरिएको छ ।

गाउँपालिकाले महिला स्वास्थ्य स्वयंसेविका,सरसफाइकर्मी र सहिद परिवारको समेत स्वास्थ्य बीमा गरिदिएको छ।


गाउँपालिका अध्यक्ष प्रकाश विष्टले जोखिम मोलेर काम गर्ने मजदुरको सुरक्षालाई ध्यानमा राखेर दुर्घटना बीमा कार्यक्रमलाई निरन्तरता दिइएको बताउनुभयो।

‘मजदुरको स्वास्थ्य र सुरक्षाप्रति स्थानीय सरकार संवेदनशील छ,’ उहाँले भन्नुभयो, ‘दुर्घटनाका बेला उपचारमा आर्थिक समस्या नहोस् भन्ने उद्देश्यले बीमा कार्यक्रम सञ्चालन गरेका हौँ ।’

अध्यक्ष विष्टले मजदुरको हितमा सञ्चालन गरिएका सामाजिक सुरक्षाका कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताउनुभयो।