युट्युवको कमालः सुलोचनाको बारीमा फले लटरम्म कागती

तुलसीपुर, २२ असार ।
दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ बखरियाकी सुलोचना शेर्पाको कुनै समय युट्युव, फेसबुक टिकटक हेरेर दिन वित्ने गथ्र्यो । तर, अचेल दैनिकी फेरिएको छ। त्यही युट्युव नै उहाँको दैनिकी फेर्ने माध्यम बनेको छ । उहाँले युट्युव हेरेरै घरकै आँगनसँगै जोडिएको ११ कठ्ठा जग्गामा गरेको कागती खेति हेरचाहमै उहाँको दिन बित्ने गर्छ । कुनै समय केही व्यवसाय गर्ने हुटहुटी चलेकी सुलोचनालाई प्रविधि (युट्युब) ले व्यावसायिक मार्ग देखाएको हो।

युट्युबबाट सुरु भएको यात्रा सुलोचनाले कुनै तालिम केन्द्र धाएर वा विज्ञसँग सल्लाह लिएर यो खेती सुरु गर्नुभएको होईन् । उहाँले त आधुनिक प्रविधिको सही सदुपयोग गर्दै युट्युब हेरेरै कागती खेतीका बारेमा जानकारी लिनु भयो र त्यसलाई व्यवहारमा उतार्ने साहस गर्नुभयो ।“मैले युट्युव हेरेर कागति खेतिका बारेमा धेरै जानकारी पाएँ”,उहाँले भन्नुभयो“त्यसले गर्दा नै अहिले कागति खेति गरिरहेकी छु ।”


विगत पाँच वर्षदेखि उहाँ यसै खेतीमा निरन्तर व्यस्त हुनुहुन्छ । आफ्नो बारीमा तीनसय वटा कागतीका बिरुवा रोपेकी सुलोचनाले गएको वर्षबाट राम्रो प्रतिफल पाउन थाल्नु भएको छ । गत वर्ष सबै खर्च कटाएर उहाँले डेढ लाख रुपैयाँ आम्दानी गर्न सफल हुनुभयो । यस वर्ष बोटमा कागती निकै राम्रोसँग फलेकाले आम्दानी झन् बढ्ने उहाँको विश्वास छ ।“गएको बर्ष थोर–थोरै फलेको थियो”,उहाँले उत्साहित हुँदै भन्नुभयो“अहिले फल पनि राम्रो लागेको छ, अहिले दुई लाखसम्म आम्दानी हुन्छ की भन्ने लागेको छ ।” उहाँले हाल बिभिन्न संघसंस्थाको प्राबिधिक सहयोग पनि लिनु भएको छ । जसबाट प्राङगारिक मल समेत बनाउने गरेको उहाँको भनाई छ । बोटबिरुवाको पोषणका लागि उहाँले झोल मल, गोठे मल र गड्यौला मलको प्रयोग गर्दै आउनुभएको छ । घरमै उपलब्ध हुने र बनाउन सकिने यस्ता प्राङ्गारिक मलका कारण कागतीको उत्पादन स्वस्थ र राम्रो भएको उहाँले बताउनुभयो ।

वैदेशिक रोजगारी वा अन्य विकल्प खोज्नुभन्दा आफ्नै जग्गामा जाँगर चलाउने हो भने घरमै बसेर लाखौं कमाउन सकिन्छ भन्ने सन्देश दिन पनि आफूले यो कार्य गरेको उहाँले बताउनुभयो ।