जय महाकालको महापुराणः ३० लाख मूल्य बराबरको जग्गा पायो, आर्थिक संकलन न्यून

तुलसीपुर, ४ चैत ।
दाङको तुलसीपुरमा सञ्चालित श्रीमद्भागवत महापुराण तथा शिव चर्चाको आयव्यय सार्वजनिक गरिएको छ । जयशिव महाकाल मानवसेवा आश्रमले शुक्रबार  पत्रकार सम्मेलन गरेर आयव्यय सार्वजनिक गरेको हो ।

आय व्यय विवरणमा १४ हजार ६ सय ४९ रुपैयाँ घाटामा आश्रमले जनाएको छ । आश्रमका सचिव शम्भु बूढा मगरका अनुसार फागुन २४ गतेदेखि ३० गतेसम्म सञ्चालन भएको महापुराण तथा शिव चर्चामा ८ लाख ७३ हजार २६० नगद आम्दानी भएको थियो । त्यसमध्यै ८ लाख ८७ हजार ९०९ रुपैयाँ खर्च भएको छ ।


यस्तै, महापुराणमा तुलसीपुर उपमहानगरपालिका ९ बेलुवा निवासी रुद्रसिंह खड्का र विमला खड्काले तुलसीपुर ७ गैरापातुमा रहेको करिब ३० लाख मूल्य बराबरको जग्गा आश्रमलाई दान दिएको पनि उहाँले बताउनुभयो । जग्गा दानको हिसाबले आफूहरू नाफामा भएको आयोजकले जनाएको छ ।

भोक र प्यास विरुद्धको निःशुल्क खाना खुवाउने अभियान गर्दै आएको महाकालले त्यसलाई थप व्यवस्थित भवन निर्माणका लागि पनि महापुराणको आयोजना गरेको हो । पत्रकार सम्मेलनमा निःशुल्क खाना खुवाउने कार्यक्रमसँगै कपडा बैंक पनि सञ्चालन गर्न लागेको समेत बुढाले बताउनुभयो । आश्रमका अध्यक्ष शेर बहादुर घर्ती मगरले अध्यक्षता पत्रकार सम्मलेन भएको हो ।