पोषणमैत्री अस्पताल तथा स्वास्थ्य संस्था घोषणाका लागि राप्तीमा योजना तर्जुमा

मसुरिया, १८ असार
दाङको राप्ती गाउँपालिकाले पालिकाभित्र रहेका अस्पताल तथा स्वास्थ्य संस्थालाई पोषणमैत्री संस्था घोषणा गर्ने उद्देश्यले योजना तर्जुमा तथा समीक्षा कार्यक्रम सम्पन्न गरेको छ। राष्ट्रिय पोषण कार्यक्रम अन्तर्गत गाउँपालिकाको स्वास्थ्य शाखाले बिहीबार आयोजना गरेको कार्यक्रममा पोषणमैत्री अस्पताल तथा स्वास्थ्य संस्था घोषणाका लागि आवश्यक मापदण्ड, सूचक तथा कार्ययोजनाबारे विस्तृत छलफल गरिएको थियो। कार्यक्रममा स्वास्थ्य संस्थाबाट हाल प्रदान भइरहेका पोषणसम्बन्धी सेवाको अवस्था, उपलब्धि तथा चुनौतीहरूको समीक्षा गर्दै आगामी दिनमा पूरा गर्नुपर्ने सूचक तथा क्रियाकलाप समेटिएको कार्ययोजना तयार पारिएको स्वास्थ्य शाखाका पोषण फोकल पर्सन धनबहादुर बुढा क्षेत्रीले जानकारी दिनुभयो। कार्यक्रममा मातृ तथा शिशु पोषण सुधार, स्तनपान प्रवर्द्धन, कुपोषण न्यूनीकरण, किशोरी स्वास्थ्य तथा पोषण सेवाको गुणस्तर अभिवृद्धिलगायत विषयमा छलफल भएको थियो। सहभागीहरूले स्वास्थ्य संस्थालाई पोषणमैत्री बनाउन आवश्यक पूर्वाधार विकास, सेवा व्यवस्थापन सुदृढीकरण तथा जनचेतनामूलक गतिविधिलाई प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए।


कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका उपाध्यक्ष कमलापति चौधरीले स्वस्थ, सक्षम र समृद्ध समाज निर्माणका लागि पोषण क्षेत्रलाई उच्च प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो। उहाँले पोषण सुधार स्वास्थ्य क्षेत्रको मात्र जिम्मेवारी नभई परिवार, समुदाय र सरोकारवाला सबै निकायको साझा दायित्व भएको उल्लेख गर्नुभयो।
उपाध्यक्ष चौधरीले पोषणमैत्री अस्पताल तथा स्वास्थ्य संस्था घोषणा अभियानलाई सफल बनाउन आवश्यक मापदण्ड पूरा गर्न सबै पक्षको सक्रिय सहयोग, समन्वय र प्रतिबद्धता आवश्यक रहेको बताउनुभयो। “कुपोषण न्यूनीकरण र पोषण सुधारमा स्वास्थ्य संस्थाको भूमिका अत्यन्त महत्वपूर्ण छ,” उहाँले भन्नुभयो, “गर्भवती महिला, सुत्केरी आमा, किशोरी तथा बालबालिकाको पोषण अवस्था सुधार्न गुणस्तरीय स्वास्थ्य सेवासँगै प्रभावकारी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न जरुरी छ।” कार्यक्रममा गाउँपालिका अन्तर्गतका अस्पताल तथा स्वास्थ्य संस्थाका प्रमुख, स्वास्थ्यकर्मी र सम्बन्धित सरोकारवालाहरूको सहभागिता रहेको थियो।