
तुलबहादुर कवँर मगर
भालुबाङ, ११ असार।
दाङको राप्ती गाउँपालिकामा एक हप्ते सामुदायिक विपद् स्वयंसेवक आधारभूत तालिम बिहीबार सम्पन्न भएको छ। राप्ती गाउँपालिकाको आयोजना तथा सशस्त्र प्रहरी बल नेपाल २९ नं। गण हेडक्वाटर ज्वालामाई भालुबाङको समन्वयमा सञ्चालन गरिएको तालिममा विपद् जोखिम न्यूनीकरण, खोज तथा उद्धार, प्राथमिक उपचार, विपद्को समयमा अपनाउनुपर्ने सुरक्षा उपाय तथा सामुदायिक स्तरमा विपद् व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान र सीप प्रदान गरिएको थियो।
तालिमको समापन कार्यक्रममा बोल्दै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले विपद् व्यवस्थापनमा समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेको बताउनुभयो। उहाँले विपद् जुनसुकै समयमा आउन सक्ने भएकाले स्थानीय स्तरमै दक्ष तथा प्रशिक्षित स्वयंसेवक तयार गर्नु आवश्यक रहेको उल्लेख गर्दै तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा लागू गरी समुदायको सुरक्षा तथा विपद् प्रतिकार्यमा सक्रिय भूमिका निर्वाह गर्न सहभागीहरूलाई आग्रह गर्नुभयो।
अध्यक्ष विष्टले स्थानीय तहले विपद् पूर्वतयारी, जोखिम न्यूनीकरण तथा जनचेतनामूलक कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाइरहेको बताउँदै प्रशिक्षित स्वयंसेवकहरूले विपद्का बेला पहिलो प्रतिकार्यकर्ताका रूपमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।
त्यसैगरी भालुबाङ अस्पतालका एमडिजिपी डाक्टर रणबहादुर बोगटीले विपद्का समयमा उद्धारसँगै प्राथमिक उपचारको भूमिका अत्यन्त महत्वपूर्ण हुने बताउनुभयो। उहाँले तालिमले सहभागीहरूलाई आपत्कालीन अवस्थामा घाइते तथा प्रभावित व्यक्तिलाई प्रारम्भिक स्वास्थ्य सेवा प्रदान गर्न आवश्यक ज्ञान र सीप हासिल गर्न सहयोग पुगेको उल्लेख गर्नुभयो।
समुदायस्तरमा यस्ता प्रशिक्षित स्वयंसेवकहरूको उपस्थितिले विपद्का बेला हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरणमा महत्वपूर्ण योगदान पुग्ने उहाँको भनाइ थियो।
सशस्त्र प्रहरी बल नेपाल २९ नं। गण हेडक्वाटर ज्वालामाई भालुबाङका गणपति यदु कुमार कार्कीको अध्यक्षता तथा अध्यक्ष विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको समापन गरिएको हो।
तालिममा राप्ती गाउँपालिकाका विभिन्न वडाबाट २५ जनाको सहभागिता रहेको थियो।
सहभागीहरूले तालिमबाट विपद् व्यवस्थापन तथा उद्धार कार्यसम्बन्धी महत्वपूर्ण ज्ञान र व्यवहारिक सीप हासिल भएको बताएका छन्। गाउँपालिकाले समुदायस्तरमा विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने उद्देश्यले यस्ता तालिमलाई निरन्तरता दिदै आएको छ।



लाइभदाङ । ११ असार २०८३, बिहीबार २०:४७ बजे