टरिगाउँ विमानस्थल—बजेटको भाषण र विकासको यथार्थबीचको दूरी

दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थल नेपालकै पुरानो विमानस्थलमध्ये एक हो। २०११ सालमा सञ्चालनमा आएको यो विमानस्थलले सात दशकभन्दा बढी समय पार गरिसक्दा पनि यसको आधारभूत संरचना अझै सानो धावनमार्ग ९७५० मिटर० मै सीमित छ। जसका कारण यहाँ १९ सिटे साना जहाजबाहेक अन्य ठूला जहाज सञ्चालन सम्भव छैन। परिणामस्वरूप उडान अनियमित छ, सेवा अस्थिर छ र यात्रुहरू अझै भैरहवा वा नेपालगञ्ज धाउन बाध्य छन्। टरिगाउँ विमानस्थलको समस्या केवल भौतिक पूर्वाधारको होइन, नीति कार्यान्वयन र प्राथमिकताको पनि हो। वर्षेपिच्छे बजेट भाषणमा यसको नाम समावेश हुन्छ, तर व्यवहारमा भने बजेट विनियोजन र कामको गति दुवै कमजोर देखिन्छ। २०६८÷६९ मा कालोपत्रे गरिएको बाहेक पछिल्ला वर्षहरूमा उल्लेखनीय सुधार हुन सकेको छैन। टर्मिनल भवन बने पनि उडान नियमित नहुँदा त्यसको उपयोगिता सीमित छ।

विमानस्थल विस्तारका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले चार विकल्पसहित डीपीआर तयार गरिसकेको छ। जसअनुसार धावनमार्ग १२३० मिटरदेखि १५०० मिटरसम्म विस्तार गर्न सकिन्छ। तर करिब ६ अर्ब रुपैयाँ लागत लाग्ने यो योजनामा आवश्यक जग्गा अधिग्रहण, वातावरणीय अध्ययन र राजनीतिक समन्वयको अभावले काम अघि बढ्न सकेको छैन। यसले विकास योजना केवल कागजमै सीमित हुने परम्परालाई फेरि दोहो¥याएको छ। यसबीच वैकल्पिक विमानस्थलको बहसले टरिगाउँको प्राथमिकतालाई अझ ओझेलमा पारेको देखिन्छ। नारायणपुरमा अन्तर्राष्ट्रिय विमानस्थलको चर्चा र प्रस्तावले स्थानीय विमानस्थल सुधारभन्दा नयाँ परियोजनातर्फ ध्यान मोडिएको छ। परिणामस्वरूप, पहिले नै सञ्चालनमा रहेको संरचना कमजोर हुँदै गएको छ। विमानस्थलको अनियमितताले स्थानीय अर्थतन्त्र र जनजीवनमा प्रत्यक्ष असर पारेको छ। इन्धन डिपो न्यून प्रयोगमा छ, हवाई सेवा अनिश्चित छ र यात्रुहरूको विश्वास कमजोर भएको छ। यस्तो अवस्थामा विमानस्थललाई केवल अस्तित्वमा रहेको संरचना बनाइराख्नु भन्दा प्रभावकारी सञ्चालनतर्फ ध्यान दिनु आवश्यक छ।


टरिगाउँ विमानस्थलको भविष्य स्पष्ट छ—धावनमार्ग विस्तार र नियमित उडान सुनिश्चित नगरेसम्म यसको उपयोगिता सीमित नै रहनेछ। अब आवश्यकता बजेट भाषणको होइन, कार्यान्वयनको हो। विकासको नाममा आश्वासन होइन, परिणाम देखिनु पर्छ। सरकार, स्थानीय तह र सम्बन्धित निकायबीच समन्वय भएमा मात्र टरिगाउँ विमानस्थल दाङको वास्तविक हवाई प्रवेशद्धार बन्न सक्छ।