
तुलबहादुर कवँर मगर
दाङ, ९ भदौ ।
दाङको राप्ती गाउँपालिकाले बजार तथा सार्वजनिक क्षेत्रको सरसफाइलाई व्यवस्थित बनाउन पालिकाका ९ वटै वडाका सार्वजनिक चोकमा ४५ वटा फलामे डस्टबिन राखिएकाे छ।
सार्वजनिक स्थानमा जथाभावी फोहोर फाल्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै फोहोर व्यवस्थापनलाई सहज बनाउने उद्देश्यले डस्टबिन राखिएको गाउँपालिकाले जनाएको छ।
बजार क्षेत्र, मुख्य सडक तथा मानिसको बढी आवतजावत हुने सार्वजनिक स्थानलाई लक्षित गरी डस्टबिन राखिएको हो।
गाउँपालिकाको सरसफाइ शाखा प्रमुख गीता चौधरीका अनुसार डस्टबिन राख्नुका साथै त्यसको सही प्रयोग र नियमित फोहोर व्यवस्थापनमा पनि ध्यान दिइनेछ। यसबाट नागरिकमा डस्टबिन प्रयोग गर्ने बानीको विकास हुनुका साथै सार्वजनिक स्थानको सरसफाइमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।
गाउँपालिकाले सार्वजनिक स्थानमा जम्मा हुने फोहोर दैनिक रूपमा ट्र्याक्टरमार्फत संकलन गर्दै आएको छ। डस्टबिनको व्यवस्थापनसँगै फोहोर संकलनलाई थप व्यवस्थित बनाउने तयारी गाउँपालिकाको छ।
गाउँपालिका अध्यक्ष प्रकाश विष्टले स्वच्छ र सुन्दर राप्ती निर्माणका लागि सरसफाइलाई प्राथमिकतामा राखिएको बताउनुभयो। उहाँले डस्टबिन राख्दैमा मात्रै सार्वजनिक स्थान सफा नहुने भएकाले यसको सही प्रयोगमा नागरिकको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो।
“डस्टबिन राखेर मात्रै बजार सफा हुँदैन, यसको सही प्रयोग गर्न नागरिकको भूमिका महत्वपूर्ण हुन्छ,” अध्यक्ष विष्टले भन्नुभयो, “स्वच्छ र व्यवस्थित राप्ती निर्माण सबैको साझा जिम्मेवारी हो।”
गाउँपालिकाले डस्टबिनको प्रयोग गर्न, जथाभावी फोहोर नफाल्न तथा सार्वजनिक स्थानको सरसफाइमा सहयोग गर्न सबै नागरिकलाई आग्रह गरेको छ।



लाइभदाङ । ९ भाद्र २०८३, मंगलवार १९:३८ बजे