चारलेनको विलम्व सहन सकिदैन

घोराही तुलसीपुर चारलेन निर्माण सुरु भएको चार बर्ष भयो । २०७५ माघमा सम्झौता गरेर काम सुरु गरेको भएपनि काम एकरति पनि अगाडी बढ्न सकेको छैन् । यो अबधीमा ७ जना पेटी ठेकेदार फेरिए । तर, उनीहरुले काम गरेनन् । त्यसलाई कमाई खाने भाडो बनाए । फलस्वरुप चार बर्षमा १० प्रतिशतमात्रै काम भएको छ। जो की चन्द्रोटामा संगै काम सुरु भएको अहिलेसम्म ८२ प्रतिशत प्रगति भएको छ । पछिल्लो समय श्रेष्ठ कम्पनीका रोशन श्रेष्ठले पेटी ठेकेदारका रुपमा काम गरिरहेका छन् । बैशाखदेखि काम सुरु गरेका उनले चारमहिनामा ४ प्रतिशत मात्रै काम गरेका छन् । जुन सन्तोषजनक छैन । उनको काम सन्तोषजनक नभएपछि केही दिन अघि जिल्ला समन्वय समितिले चारलेनसंग सम्बन्धित सरोकारवाला सबैलाई बोलाएर छिटो काम सक्न निर्देशन दियो । यो डिसेम्बरसम्म ३० प्रतिशत काम नभए ठेक्का बदर गर्ने पनि निर्णय भएको छ ।

हरेक विकास निर्माणका काम समयमै सकेका उदाहरणहरु दाङमा विरलै छन् । समयसीमामा काम नसकेर पटक–पटक म्याद थप भइरहेको छ । चारलेनमा अहिलसम्म तीन पटक म्याद थप भइसकेको छ । चोथौ पटक म्याद थप गर्ने प्रक्रिया अघि बढेको छ । पटक–पटक म्याद थप गर्ने तर, काम नगर्ने अबस्था छ । सडक अधुरै छोड्दा अहिलेसम्म २२ जनाको मृत्यु भइसकेको छ, भने सयौं घाइते भएका छन् ।


यसरी विकास निर्माण कार्य अधुरो राख्दा नागरिकले प्रत्येक्ष रुपमा सास्ती भोग्नु परेको छ । बीचमा खाल्डाले दुर्घटना बढिरहेका छन् । सडक हिलाम्मे र धुलाम्मे हुने गरेको छ । नागरिकले यसरी सास्ती पाउन थालेको चार बर्ष पुगेको छ । यो सडकलाई राजनीतिसंग पनि जोड्ने गरिएको छ । जिल्लाका दुई मुख्य बजारलाई जोड्ने उक्त सडक नबन्दा यहाँका नेतृत्वलाई चौतर्फी आलोचना गर्ने गरिएको छ । अझै पनि यो सडक कहिले बन्छ, भन्ने कुरा केही निक्र्यौल छैन् । यही गतिमा गए अझै ४/५ बर्ष लाग्न सक्छ । त्यसैले दाङका सबै राजनीतिक दल, सरोकारवाला निकाय मिलेर सकेसम्म चाँडो काम सक्न दवाव दिनुपर्छ । अन्थथा यो ठेक्का तोडेर अर्को ठेकेदारलाई ठेक्का दिने प्रक्रियामा अघि बढ्नु पर्छ । त्यसो नगर्दा दाङवासीले ठूलो दुःख पाउने अबस्था रहन्छ । साभार : अग्रिम साप्ताहिक