
दीपक बोहरा
तुलसीपुर, ९ भदौ ।
दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ हरीपौरीका अर्जुन आचार्य लामो समयदेखि धमिलो देख्ने समस्याबाट ग्रसित थिए । यसअघि उनले कहिल्यै आफ्नो आँखाको जाँच गराएका थिएनन् । तर, तुलसीपुर १२ को वडा कार्यालयमा सोमबार भएको स्वास्थ्य शिविरमा जाँच गराउँदा मोतिविन्दू भएको र शल्यक्रिया गर्नुपर्ने भनेर चिकित्सकले भनेको उनले बताए । “पहिल्यै धमिलो देखिन्थ्यो, तर, चेक गराउन पाएको थिएन”,उनले भने “अहिले चेक गराउँदा मोतिविन्दु भएको रहेछ, अब भोलि(मंगलबार) नै अप्रेशनकालागि बोलाउनुभएको छ ।”
हरीपौरीकै बट्क्या चौधरीको पनि देब्रे आँखा कम देखिने समस्या थियो । त्यो आँखा पनि शल्यक्रिया गर्नुपर्ने चिकित्सकले सुझाब दिए । गाउँघरमै यसरी शिविर सञ्चालन भएपछि आफूले आँखा जाँच गराउन पाएको उनको भनाई छ ।“गाउँमै आँखा जाँच गर्ने शिविर आयो”,उनले भने “ आँखा जाँच गराउँदा समस्या पनि पत्ता लाग्यो ।”
उनीहरु मात्रै होइन्, सोही वडाका मात्रै तीनसय ८२ जनाको आँखा जाँच गरिएको थियो । त्यो मध्ये ६३ जनामा मोतिविन्दूको समस्या देखिएको थियो, भने एकसय ११ जनालाई चस्मा वितरण गरिएको थियो ।
मोतिविन्दु विग्रिएर जलविन्दू भएमा त्यसले आँखालाई निकै समस्या पार्ने भएकाले पनि मोतिविन्दूको पहिचान गरि अप्रेशन गर्नकालागि यो शिविर आयोजना गरिएको अस्पतालका नेत्र सहायक विमल घिमिरेले बताए । उनका अनुसार मोतिविन्दूको अप्रेशन गर्न १२ हजार रुपैँया लाग्ने गरेको भएपनि शिविरबाट गएपछि ६ हजार ५ सयमा अप्रेशन गरिदिने समेत बताए । त्यस्तै चस्मा आबश्यक पर्नेहरुलाई निःशुल्क चस्मा समेत वितरण गरिएको अस्पतालका प्रशासन सहायक पूर्णबहादुर वलीले बताए । नेपालमा दृष्टि गुम्नुको मुख्य कारण नै मोतिविन्दू रहेको समेत उनले बताए ।
उमेर बढ्दै जाँदा मोतिविन्दू हुनु स्वाभाविक प्रक्रिया रहेको भन्दै यसलाई समयमै पहिचान र शल्यक्रिया गर्नुपर्ने उनको भनाई छ । यदि समयमै शल्यक्रिया नभएमा भने जोखिम बढ्न सक्ने उनको भनाई छ ।
वडावासीको माग अनुसार यसरी स्वास्थ्य शिविर आयोजना गरिएको वडाध्यक्ष खुसीराम चौधरीले बताए । आँखा जस्तो सम्वेदनशील अंगलाई जोगाउन पनि यस्ता शिविरले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनको भनाई छ ।
वडा कार्यालयको आयोजना तथा नेपाल नेत्र ज्योति संघ(राप्ती आँखा अस्पताल) प्राबिधिक सहयोगमा निःशुल्क आँखा जाँच शिविर भएको हो । यो कार्यक्रम अन्तर्गत डिसेम्बरसम्म १२ सयलाई मोतिविन्दूको शल्यक्रिया गर्ने कार्यक्रम रहेको छ ।



लाइभदाङ । ९ भाद्र २०८३, मंगलवार १०:५० बजे