
घोराही, ५ असार ।
स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित संजीवनी टिचिङ हस्पिटल घोराही, दाङ र थवाङ गाउँपालिका, रोल्पा को संयुक्त आयोजनामा रोल्पाको थवाङ आधारभूत अस्पताल, झकेबाङमा सञ्चालन गरिएको दुईदिने निःशुल्क बृहत् स्वास्थ्य शिविर सम्पन्न भएको छ। २०८३ साल असार ४ र ५ गते सञ्चालन भएको उक्त शिविरबाट सात सयभन्दा बढी सेवाग्राही प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्। दुर्गम क्षेत्रका नागरिकलाई गुणस्तरीय तथा विशेषज्ञ स्वास्थ्य सेवा निःशुल्क रूपमा उपलब्ध गराउने उद्देश्यले आयोजना गरिएको शिविरमा जनरल फिजिसियन, हाडजोर्नी तथा नसा रोग, स्त्री तथा प्रसूति, शिशु तथा बालरोग, नाक–कान–घाँटी तथा रेडियोग्राफी सेवासहित विभिन्न विशेषज्ञ चिकित्सकहरूको टोलीले स्वास्थ्य परीक्षण, परामर्श तथा उपचार सेवा प्रदान गरेको थियो।
शिविर अवधिभर बिरामीहरूलाई विशेषज्ञ चिकित्सकबाट प्रत्यक्ष परीक्षण, भिडियो एक्स–रे, प्रयोगशाला परीक्षण ९ल्याब०, औषधि वितरण तथा आवश्यक स्वास्थ्य परामर्श सेवा पूर्ण रूपमा निःशुल्क उपलब्ध गराइएको थियो। शिविरमा स्थानीय बासिन्दासँगै दुर्गम बस्तीबाट समेत ठूलो संख्यामा नागरिक सहभागी भएका थिए। शिविर उद्घाटन कार्यक्रममा बोल्दै थवाङ गाउँपालिका अध्यक्ष ऋषिकेशव बुढामगर ले स्वास्थ्य संस्थाको पहुँच सीमित रहेका क्षेत्रमा यस्ता कार्यक्रम अत्यन्त आवश्यक रहेको बताउनुभयो। उहाँले नागरिकले विशेषज्ञ सेवा, औषधि, भिडियो एक्स–रे तथा ल्याब परीक्षणसहित उपचार र परामर्श निःशुल्क पाउनु स्थानीयका लागि ठूलो राहत भएको उल्लेख गर्नुभयो। साथै आगामी दिनमा पनि यस्ता सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।त्यसैगरी, संजीवनी टिचिङ हस्पिटलका मेडिकल डाइरेक्टर डा। बाचसपति सुवेदी ले शिविर सञ्चालनका लागि सहकार्य गर्ने थवाङ गाउँपालिका, जनप्रतिनिधि, स्वास्थ्य शाखा तथा सम्पूर्ण सहयोगी टोलीप्रति धन्यवाद व्यक्त गर्दै अस्पतालले सामाजिक उत्तरदायित्व अन्तर्गत दुर्गम तथा विपन्न समुदायसम्म स्वास्थ्य सेवा पुर्याउने उद्देश्यलाई प्राथमिकतामा राखेको बताउनुभयो। उहाँले शिविरले स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न महत्त्वपूर्ण भूमिका खेलेको धारणा राख्नुभयो।
कार्यक्रममा अस्पताल व्यवस्थापक तथा सहप्राध्यापक मदन प्रसाद पन्थी ले शिविरको मुख्य उद्देश्य निःशुल्क उपचार सेवा प्रदान गर्नुका साथै प्रारम्भिक रोग पहिचान, स्वास्थ्य सचेतना अभिवृद्धि, विशेषज्ञ सेवामा पहुँच विस्तार तथा आवश्यक परेमा थप उपचारका लागि प्रेषण ९रेफरल० सेवा उपलब्ध गराउनु रहेको जानकारी दिनुभयो। उहाँका अनुसार शिविरमा उपचारपछि थप उपचारका लागि संजीवनी टिचिङ हस्पिटल आउनुपर्ने बिरामीलाई २० प्रतिशतसम्म छुटसहित सेवा प्रदान गर्ने व्यवस्था समेत गरिएको छ।शिविरमा सेवा लिएका सेवाग्राहीहरूले विशेषज्ञ चिकित्सकबाट गरिएको परीक्षण, उपचार तथा परामर्शप्रति सन्तुष्टि व्यक्त गरेका छन्। विशेषगरी निःशुल्क रूपमा भिडियो एक्स–रे, ल्याब परीक्षण र औषधि प्राप्त भएकोमा स्थानीय नागरिकले आयोजक संस्थाप्रति आभार प्रकट गरेका थिए।
शिविर उद्घाटन सत्रको सञ्चालन गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख तुल बहादुर पुन ले गर्नुभएको थियो। दोस्रो दिन सम्पन्न समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष ऋषिकेशव बुढामगर, स्वास्थ्य शाखा प्रमुख तुल बहादुर पुन तथा नेपाल मगर संघका निवर्तमान केन्द्रीय उपाध्यक्ष तथा रोल्पाली सेवा समाजका संरक्षक दर्जित रोका मगर ले अस्पताल व्यवस्थापनप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक तथा स्वास्थ्यसम्बन्धी कार्यक्रमका लागि सहकार्य गर्न गाउँपालिका सदैव तयार रहेको बताएका थिए।कार्यक्रम सफल बनाउन वडा अध्यक्षहरू, गाउँपालिकाका कर्मचारी, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, सुरक्षाकर्मी तथा स्थानीय समुदायको उल्लेखनीय सहयोग रहेको आयोजकले जनाएको छ।यस प्रकारका निःशुल्क स्वास्थ्य शिविरहरूले दुर्गम क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्दै नागरिकलाई समयमै उपचार तथा रोग पहिचानमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।



लाइभदाङ । ५ असार २०८३, शुक्रबार २१:१९ बजे