
प्रिया स्मृती गजमेर
देउखुरी,३ असार ।
दाङ -गर्मी बढेसँगै देउखुरी क्षेत्रमा सर्पको बिगबिगी उल्लेख्य रूपमा बढ्न थालेको छ । पछिल्ला दिनहरूमा विषालु तथा अविषालु सर्पको संख्या बढ्दै जाँदा सर्पदंशका घटनासमेत बढ्न थालेका छन । लमही अस्पतालका अनुसार हाल दैनिक ३ देखि ५ जनासम्म सर्पले टोकेका बिरामी उपचारका लागि अस्पताल पुग्ने गरेका छन ।
सर्पदंशका घटनामा वृद्धि हुन थालेपछि लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले सर्वसाधारणलाई विशेष सतर्कता अपनाउन आग्रह गर्नुभएको छ । उहाँले सर्पको टोकाइबाट जोगिन घर तथा घरवरपरको वातावरण सफा राख्न, झाडी तथा फोहोर हटाउन र रातिको समयमा सुत्दा अनिवार्य रूपमा झुलको प्रयोग गर्न अनुरोध गर्नुभएको छ ।
नगर प्रमुख चौधरीले घरमा वा छिमेकमा कसैलाई सर्पले टोकेमा झारफुक वा घरेलु उपचारमा समय खेर नफाली तत्काल नजिकको अस्पताल वा स्वास्थ्य संस्थामा पुगेर उपचार गराउन आग्रह गर्नुभएको छ । समयमै उपचार पाएमा सर्पदंशबाट हुने जोखिमलाई धेरै हदसम्म कम गर्न सकिने उहाँको भनाइ छ ।
देउखुरी क्षेत्रमा पछिल्लो समय सर्पको संख्या बढ्दै गएको उल्लेख गर्दै उहाँले सर्पलाई अनावश्यक रूपमा मार्न नहुने बताउनुभयो । “सर्प पनि प्रकृति र जैविक विविधताको महत्वपूर्ण हिस्सा हो । यसले वातावरणीय सन्तुलन कायम राख्न महत्वपूर्ण भूमिका निर्वाह गर्छ,” नगर प्रमुख चौधरीले भन्नुभयो ।
घरभित्र वा वरपर सर्प देखिएमा आफैं समात्ने वा मार्ने प्रयास नगरी सम्बन्धित सर्प उद्धारकर्तालाई खबर गर्नसमेत उहाँले अनुरोध गर्नुभएको छ । गर्मी र वर्षायाममा सर्पको जोखिम बढ्ने भएकाले सबै नागरिकलाई सचेत र सावधान रहन नगरपालिकाले आग्रह गरेको छ ।



लाइभदाङ । ३ असार २०८३, बुधबार ०५:५७ बजे