
मसुरिया,२६ जेठ।
दाङको राप्ती गाउँपालिकाले लुम्बिनी प्रदेशको राजधानी क्षेत्र देउखुरीको आधारभूत पूर्वाधार विकासलाई प्रमुख प्राथमिकतामा राख्न प्रदेश सरकारसँग माग गरेको छ।
गाउँपालिका अध्यक्ष प्रकाश विष्टको नेतृत्वमा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा उद्योगी–व्यवसायीहरूको टोलीले मंगलबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य तथा सम्बन्धित मन्त्रीहरूलाई भेट गरी राजधानी क्षेत्रको समग्र विकासका लागि दीर्घकालीन तथा परिणाममुखी योजना र बजेट सुनिश्चित गर्न आग्रह गरेको हो।
भेटका क्रममा अध्यक्ष विष्टले राजधानी घोषणा भएपछि देउखुरीका नागरिकमा विकास, समृद्धि र अवसरप्रति ठूलो अपेक्षा जागेको उल्लेख गर्नुभयो। उहाँले राजधानी स्थापनासँगै उत्साह बढे पनि विकासका धेरै अपेक्षा अझै पूरा हुन नसकेको प्रति चिन्ता व्यक्त गर्नुभयो।
उहाँले प्रदेश सरकारका प्रशासनिक संरचना तथा भवन निर्माणका काम अघि बढे पनि नागरिकले प्रत्यक्ष अनुभूति गर्ने सडक, खानेपानी, सार्वजनिक सेवा तथा अन्य आधारभूत पूर्वाधारको विकास अपेक्षाअनुसार हुन नसकेको बताउनुभयो।
राजधानी निर्माण अभियानमा स्थानीय नागरिकले प्रदेशको हितलाई प्राथमिकतामा राख्दै निरन्तर सहयोग गर्दै आएको स्मरण गराउँदै अब राजधानीको गरिमाअनुरूप पूर्वाधार, सेवा र अवसरहरूको विस्तार आवश्यक रहेको उल्लेख्य गर्नुभयो।
प्रदेश सरकारलाई बुझाइएको मागपत्रमा राजधानी क्षेत्रका सडक स्तरोन्नति, सार्वजनिक सेवा सुधार, युवाका लागि रोजगारी सिर्जना तथा किसान, महिला, विद्यार्थी र श्रमिकले विकासको प्रत्यक्ष अनुभूति गर्न सक्ने वातावरण निर्माणमा विशेष पहल गर्न आग्रह गरिएको छ।
यसैबीच, मुख्यमन्त्री आचार्यले राजधानी क्षेत्रको विकास प्रदेश सरकारको प्राथमिकतामा रहेको बताउनुभयो। उहाँले स्थानीय तहबाट प्राप्त सुझावलाई आगामी बजेट तथा कार्यक्रम निर्माणका क्रममा समेटिने जनाउनुभयो।
गाउँपालिकाले सडक, खानेपानी, जलस्रोत, शहरी पूर्वाधार, स्वास्थ्य, शिक्षा, पर्यटन, खेलकुद, रोजगारी तथा लगानी प्रवर्द्धनलगायतका क्षेत्रमा दीर्घकालीन योजना सञ्चालन गरी राजधानी क्षेत्रको समग्र विकासलाई गति दिन प्रदेश सरकारसँग अनुरोध गरेको छ।



लाइभदाङ । २६ जेष्ठ २०८३, मंगलवार २२:२९ बजे