दाङमा अवैध नदिजन्य पदार्थ ओसारपसार गर्ने सवारी साधनहरु नियन्त्रणमा

दाङ, २५ जेठ ।
दाङमा अवैध रूपमा नदिजन्य पदार्थ ओसारपसारमा संलग्न विभिन्न सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिई पाँच लाखभन्दा बढी जरिवाना गराएको छ। जिल्ला प्रहरी कार्यालय दाङ तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको टोलीले जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरेको अनुगमन तथा निगरानी अभियानका क्रममा ती सवारी साधन नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार जेठ २१ गतेदेखि जेठ २५ गतेसम्म सञ्चालन गरिएको अभियानका क्रममा अवैध रूपमा ढुङ्गा, गिट्टी र बालुवा ओसारपसारमा प्रयोग भएका ३ वटा स्काभेटर (जेसिबी), २ वटा ट्रिपर र ४ वटा ट्याक्टर नियन्त्रणमा लिइएको थियो। नियन्त्रणमा लिइएका सवारी साधनलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जनाएको छ। कारबाही प्रक्रियाअन्तर्गत ती सवारी साधनका सञ्चालक तथा सम्बन्धित व्यक्तिबाट कुल ५ लाख १५ हजार रुपैयाँ जरिवाना गराइएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।


जरिवाना प्रक्रिया पूरा भएपछि नियन्त्रणमा रहेका सवारी साधन सम्बन्धित व्यक्तिको जिम्मा लगाइएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार जिल्लाका विभिन्न नदी तथा खोलाबाट अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार हुने गतिविधि रोक्न नियमित निगरानी तथा चेकजाँच अभियान सञ्चालन हुँदै आएको छ। यस्ता गतिविधिले वातावरणीय प्रभावका साथै प्राकृतिक स्रोतको अनियन्त्रित दोहन बढाउने भएकाले नियन्त्रणलाई प्राथमिकतामा राखिएको प्रहरीले जनाएको छ।

प्रहरीले अवैध उत्खनन तथा ओसारपसारमा संलग्न गतिविधिबारे सूचना भए नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन सर्वसाधारणसँग आग्रह गरेको छ।