
सल्यान,५ बैशाख ।
सल्यानमा जन्ती बोकेको जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका ८ थारादेखि कालीमाटी गाउँपालिका १ लक्ष्मीपुरतिर जाँदै गरेको लु.प्र. ००१ ज ०२७१ नम्बरको जिप शनिबार बेलुकी बन्गाड कुपिण्डे ९१२ धाईरेमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो ।
मृत्यु हुनेमा थाराकै वर्ष ५२ का टोपबहादुर थापा, ५२ वर्षकै ठगे घर्ती र २९ वर्षका कर्णबहादुर पुन रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका सबैलाई तत्काल उद्धार गरेर सुर्खेतको मेहलकुना अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक देवराज भट्टराईले घाइते १५ मध्ये ६ जनाको अवस्था गम्भीर रहेको बताए । जिप अनियन्त्रित भएर दुर्घटनामा परेको उनले जानकारी गराए । उनका अनुसार जिपमा १८ जना सवार थिए । जिप सडकदेखि झन्डै सय मिटर तल खसेको थियो । सडकको दुरावस्थाका कारण जिप दुर्घटना भएको वडाध्यक्ष कुलबहादुर पुरीले बताए । जिप अप्ठेरो ठाउँमा दुर्घटना भएकाले उद्धार गर्न समय लागेको उनको भनाइ छ ।



लाइभदाङ । ५ बैशाख २०८३, शनिबार २२:२८ बजे