अबैध नदिजन्य पदार्थ ओसारपसार गर्ने सवारी साधनहरु नियन्त्रणमा ।

दाङ,२० जेठ ।
जिल्ला प्रहरी कार्यालय दाङ तथा मातहत प्रहरी कार्यालयहरूले जिल्लाका विभिन्न स्थानमा अवैध रूपमा नदीजन्य पदार्थ ओसारपसार गर्ने सवारी साधनमाथि कारबाही गरेका छन्।

प्रहरीका अनुसार २०८३ जेठ ८ गतेदेखि १५ गतेसम्म सञ्चालन गरिएको निगरानी तथा नियन्त्रण अभियानका क्रममा ढुङ्गा, बालुवा र गिट्टी अवैध रूपमा ओसारपसारमा संलग्न १ वटा ट्रिपर र ५ वटा ट्याक्टर नियन्त्रणमा लिइएको हो।

नियन्त्रणमा लिइएका सवारी साधनलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। कारबाही प्रक्रियापछि सम्बन्धित सवारीधनी तथा व्यक्तिहरूबाट कुल १ लाख ६५ हजार रुपैयाँ जरिवाना असुल गरिएको प्रहरीले जानकारी दिएको छ।


जरिवाना प्रक्रिया पूरा भएपछि ती सवारी साधन सम्बन्धित व्यक्तिहरूको जिम्मा लगाइएको पनि प्रहरीले जनाएको छ।

प्रहरीले नदीजन्य पदार्थको अवैध उत्खनन् तथा ओसारपसार नियन्त्रणका लागि जिल्लाका विभिन्न क्षेत्रमा नियमित अनुगमन तथा चेकजाँचलाई निरन्तरता दिइएको उल्लेख गरेको छ। यस्ता गतिविधिले वातावरणीय असरका साथै राजस्व चुहावट हुने भएकाले नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाइने प्रहरीको भनाइ छ।

स्थानीय तह तथा सम्बन्धित निकायसँगको समन्वयमा अवैध उत्खनन् र ढुवानीविरुद्ध निगरानी बढाइएको प्रहरीले जनाएको छ। साथै, कानुन विपरीत नदीजन्य पदार्थ उत्खनन् वा ओसारपसारमा संलग्न नहुन तथा यस्ता गतिविधिबारे जानकारी भए प्रहरीलाई सूचित गर्न सर्वसाधारणलाई आग्रह गरिएको छ।