विश्व दूध दिवसमा तुलसीपुरमा डेरी तथा खाद्य पसल अनुगमन, म्याद नाघेका सामग्री नष्ट

दाङ,१८ जेठ ।
विश्व दूध दिवसको अवसरमा तुलसीपुर उपमहानगरपालिकाको उपभोक्ता हित संरक्षण शाखा र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुरको संयुक्त टोलीले डेरी तथा खाद्य व्यवसायहरूको अनुगमन गरेको छ।

दुग्धपानको महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले विश्वभर जुन १ तारिखमा विश्व दूध दिवस मनाइन्छ। विश्व खाद्य संगठनले सन् २००१ देखि अन्तर्राष्ट्रिय दूध दिवस मनाउने निर्णय गरेको थियो भने नेपालले सन् २०११ देखि यो दिवस मनाउन थालेको हो।

दिवसको अवसरमा दूध तथा दुग्धजन्य पदार्थको गुणस्तरबारे जानकारी गराउँदै खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुरका प्रमुख पदम बरालले दूध पोषक तत्वले भरिपूर्ण खाद्य पदार्थ भएको बताए। उनका अनुसार दूधमा क्याल्सियम, प्रोटिन, आयोडिन, पोटासियम, फस्फोरस तथा भिटामिन बी–१२ लगायतका महत्वपूर्ण पोषक तत्व पाइने भएकाले यसको उत्पादन, भण्डारण र बिक्री वितरणमा स्वच्छता तथा गुणस्तर कायम गर्न व्यवसायीहरू जिम्मेवार हुनुपर्नेमा जोड दिए।

संयुक्त टोलीले तुलसीपुर–१९ बिजौरी क्षेत्रका विभिन्न डेरी, होटल तथा खाजा पसलहरू र तुलसीपुर बजारका डेरी पसलहरूको अनुगमन गरेको थियो। अनुगमनका क्रममा ३५ हजार रुपैयाँभन्दा बढी मूल्य बराबरको सडेको नौनी तथा म्याद नाघेका र बिग्रेका खाद्य सामग्री फेला परेपछि जफत गरी नष्ट गरिएको तुलसीपुर उपमहानगरपालिकाका सूचना अधिकारी यज्ञ केसीले जानकारी गराए।

त्यसैगरी, तुलसीपुर–१७ लालपुरस्थित ढकाल बेकरी एण्ड कफी सप मा म्याद नाघेका तथा गुणस्तरहीन खाद्य वस्तुहरू भेटिनुका साथै न्यूनतम मापदण्डसमेत पूरा नगरेको पाइएकाले उद्योग सिलबन्दी गरिएको तुलसीपुर उपमहानगरपालिकाको उपभोक्ता हित संरक्षण शाखाका प्रमुख राजु श्रेष्ठले जानकारी दिए।


बिजौरी बजारका सेकुवा, खाजा घर तथा अन्य खाद्य व्यवसायहरूमा गरिएको अनुगमनका क्रममा अधिकांश व्यवसाय दर्ता तथा नवीकरण नगरेको पाइएको छ। ती व्यवसायीलाई तीन दिनभित्र आवश्यक प्रक्रिया पूरा गर्न निर्देशन दिइएको छ। अनुगमनका क्रममा व्यवसाय दर्ता, खाद्य वस्तुको गुणस्तर, म्याद सकिएको अवस्था तथा सरसफाइको अवस्थाबारे शुक्ष्म रूपमा परीक्षण गरिएको थियो।

यसैबीच, तुलसीपुर बजारका डेरी उद्योगहरूको पनि अनुगमन गरिएको छ। केही क्षेत्रमा सुधार देखिए पनि उत्पादन तथा सेवा प्रवाहलाई अझ व्यवस्थित र गुणस्तरीय बनाउन आवश्यक सुधार जारी राख्न व्यवसायीहरूलाई आग्रह गरिएको कार्यालय प्रमुख बरालले बताए।

अनुगमन टोलीमा कार्यालय प्रमुख पदम बराल, खाद्य निरीक्षण अधिकृत सुदर्शन गोसाई, तुलसीपुर उपमहानगरपालिकाका उपभोक्ता हित संरक्षण तथा बजार व्यवस्थापन शाखाका प्रमुख राजु श्रेष्ठ, खेमकान्त पाण्डे,तुलसीपुर उपमहानगरपालिकाका सूचना अधिकारी यज्ञ केसी, नगर प्रहरी तथा पत्रकारहरूको सहभागिता रहेको थियो।