एमाले निकट निजामती कर्मचारी संगठनको अधिवेशन सुरु, संगठनलाइ अझै मजबुत बनाउनुपर्नेमा जोड

सल्यान, २४ पुस ।

नेपाल निजामती कर्मचारी संगठन सल्यानको एघारौं जिल्ला अधिवेशन खलंगामा सुरु भएको छ ।

संगठनका जिल्ला कार्यवाहक अध्यक्ष ध्रुव बहादुर खत्रीको अध्यक्षतामा भएको अधिवेशन उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका पोलिटब्युरो सदस्य गुलाबजंग शाहले निजामती कर्मचारी संगठनलाई अझै मजबुत बनाउनुपर्ने बताए । यो संगठन नेपालका अरु संगठन भन्दा जेठो, परिपक्व र अनुभवी संगठन रहेको बताउदै संगठनमा आवद्ध सबै कर्मचारीहरु निसंकोच तरिकाले कर्मचारिको हक हित र संगठनलाई बलियो बनाउनतर्फ लाग्न आग्रह गरे ।


नेकपा एमाले कर्णाली प्रदेश संसदिय दलका प्रमुख सचेतक तथा सल्यान निर्वाचन क्षेत्र नम्बर १ बाट प्रदेशसभा सदस्य समेत रहेका शाहले दिन प्रतिदिन एमालेमा प्रवेश गर्नेहरुको लहर बढिरहेकाले पार्टिलाइ झनै शसक्त बनाउनकालागि संगठनको महत्वपूर्ण भुमिका हुने कुरामा जोड दिए ।

यस्तै विशिष्ट अतिथि निजामती कर्मचारी संगठन एघारौं राष्ट्रिय अधिवेशन आयोजक कमिटीका प्रवक्ता प्रभास शाह, सचिवालय सदस्य तथा संगठनका कर्णाली प्रदेश इन्चार्ज प्रयागराज शर्मा, सल्यान जिल्ला इन्चार्ज हरि बहादुर खत्री, एघारौं राष्ट्रिय अधिवेशन आयोजक कमिटी सदस्य शंकर प्रसाद भट्टराई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

संगठनका जिल्ला सहसचिव लाल बहादुर डिसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन सचिव देवेन्द्र कुमार सेनले गरेका थिए । अधिवेशनले नयाँ कार्यसमिति चयन गर्ने छ ।