
दाङ,२६ जेठ ।
भारतीय नागरिकलाई गैरकानुनी ढंगले नागरिकता दिलाउन भूमिका खेलेको पाइएपछि दाङमा एक वडाध्यक्षसहित चार जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा राजपुर गाउँपालिका– ४ का वडाध्यक्ष ६५ वर्षीय रामेश्वर अहिर, कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका– ९ घर भएका राजपुर– ४ का वडा सचिव तथा स्थानीय पञ्जिकाअधिकारी ४७ वर्षीय राजेशकुमार कहर, वडाको कार्यालय सहायक ३४ वर्षीया मीना चौधरी र राजपुर– ४ का ४५ वर्षीय आलम जोल्दा रहेका छन् ।
पक्राउ परेका चारै जनालाई सोमबार नै जिल्ला अदालतले ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति प्रदान गरिसकेको छ । उनीहरु चार जनासहित नागरिकतामा हस्ताक्षर गरेका इलाका प्रशासन कार्यालय लमहीका तत्कालीन कार्यालय प्रमुख प्रेमबहादुर खवास र भारतीय नागरिक आयशा जोल्दाकाविरुद्ध प्रहरीले गत जेठ २० गते जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको थियो ।
चार जना पक्राउ परे पनि तत्कालीन कार्यालय प्रमुख खवास र भारतमा बिहे भइ गएकी आयशा पक्राउ परेका छैनन् । उनीहरु दुई जनालाई प्रहरीले खोजी गरिरहेको इलाका प्रहरी कार्यालय गढवाका प्रमुख डबलबहादुर बमले बताउनुभयो ।
पक्राउ परेका वडाध्यक्ष अहिर लगातार दोस्रो कार्यकालका लागि वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो । २०७५ कात्तिक २८ गते वंशजका आधारमा बुवा सुनाउल्ला जोल्दाको नामबाट ४५ वर्षीय आलम जोल्दाले नागरिकता प्राप्त गरेको देखिएको छ ।
जोल्दाले त्यो नागरिकता इलाका प्रशासन कार्यालय लमहीबाट प्राप्त गरेको खुलेको छ । जसमा तत्कालीन प्रशासन प्रमुख खवासको हस्ताक्षर छ । भारतीय नागरिक भनिएका आलमलाई नागरिकता दिलाउन आयशा सूचक बसेकी छन् । जसको बिहे भारतमा भएको छ ।
इलाका प्रहरी कार्यालय गढवाका प्रमुख बमका अनुसार सनाउल्लाको मृत्यु २०३८ वैशाख १५ गते भएको भनिएको छ । तर सरकारी अभिलेखमा उनको मृत्यु २०५८ वैशाख ११ गते भएको देखिएको छ ।
२०७४ सालमा निकालिएको नागरिकताको प्रतिलिपिमा पनि बाबुको मृत्युको विवरण फरक देखिएको प्रशासनले बताएको छ । आलाम जोल्दाको नागरिकताबारे अनुसन्धान गर्न २०८१ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरीलाई पत्राचार गरेको थियो । सोही पत्रका आधारमा प्रहरीले वडाध्यक्षसहित चार जनालाई पक्राउ गरेको हो ।



लाइभदाङ । २६ जेष्ठ २०८३, मंगलवार १२:५२ बजे