गुरुकुल एकेडेमी लमही र तुलसीपुरमा शिक्षक–अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न

घोराही,१२ जेष्ठ ।
गुरुकुल एकेडेमी लमही र गुरुकुल एकेडेमी तुलसीपुरमा शिक्षक–अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। विद्यार्थीको शैक्षिक प्रगति, विद्यालय र अभिभावकबीचको समन्वय तथा बालबालिकाको सर्वाङ्गीण विकासलाई केन्द्रमा राख्दै दुवै विद्यालयमा छुट्टाछुट्टै अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो। गुरुकुल एकेडेमी लमहीमा सम्पूर्ण अभिभावकहरूको सहभागितामा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको थियो भने गुरुकुल एकेडेमी तुलसीपुरमा मन्टेस्वरी तहका विद्यार्थीका अभिभावकहरूसँग विशेष अभिमुखीकरण कार्यक्रम गरिएको गुरुकुल एकेडेमी लमहीका शैक्षिक निर्देशक विवेक देवकोटाले जानकारी दिनुभयो।

कार्यक्रममा विद्यालयका शैक्षिक गतिविधि, विद्यार्थीको सिकाइ प्रक्रिया, अनुशासन, विद्यालयले अवलम्बन गरेका शिक्षण पद्धति तथा अभिभावकको भूमिकाबारे विस्तृत जानकारी गराइएको थियो। साथै, बालबालिकाको अध्ययन, व्यवहारिक विकास र सकारात्मक वातावरण निर्माणमा विद्यालय र अभिभावकबीचको सहकार्य आवश्यक रहेको विषयमा पनि छलफल गरिएको थियो। अभिमुखीकरण कार्यक्रममा शिक्षकहरूले विद्यार्थीको दैनिक सिकाइ, गृहकार्य, कक्षाकोठाभित्रको गतिविधि, अतिरिक्त क्रियाकलाप तथा अभिभावकले घरमा बालबालिकाको अध्ययनमा कसरी सहयोग गर्न सक्ने भन्ने विषयमा सुझाव दिएका थिए। अभिभावकहरूले पनि आफ्ना जिज्ञासा, सुझाव तथा अनुभव राख्दै विद्यालयसँग थप सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।


शैक्षिक निर्देशक विवेक देवकोटाले विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्न अभिभावकको भूमिका महत्वपूर्ण रहने बताउँदै यस्ता अभिमुखीकरण कार्यक्रमले विद्यालय र अभिभावकबीचको सम्बन्ध अझ बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि विद्यालयले शैक्षिक तथा व्यवहारिक पक्षलाई समान प्राथमिकतामा राखेर अघि बढिरहेको जानकारी दिनुभयो। कार्यक्रममा सहभागी अभिभावकहरूले विद्यालयले आयोजना गरेको अभिमुखीकरण कार्यक्रम प्रभावकारी रहेको प्रतिक्रिया दिँदै यसले आफ्ना बालबालिकाको शैक्षिक अवस्था बुझ्न र विद्यालयसँग समन्वय गर्न सहज भएको बताएका थिए। गुरुकुल एकेडेमीले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।