जय शिव महाकालले तुलसीपुरमा महापुरण लगाउने

दाङ, १८ फागुन ।
तुलसीपुरमा फागुन २४ गतेदेखि ३० गतेसम्म महायज्ञ सञ्चालन गरिने भएको छ । जय शिव महांकाल मानव सेवा आश्रमले तुलसीपुरको बसपार्कमा श्रीमद्भागबत सप्ताह ज्ञान महायज्ञको आयोजना गर्ने भएको हो । एकसय २० दिनदेखि असहाय तथा भोका नागरिकलाई निःशुल्क भोजन गराउदै आएको आश्रमले महायज्ञ सञ्चालन गर्ने भएको हो ।

भोकाहरुको पेट भराउदै आएको आश्रमले असहाय तथा घरबारबिहिन रहेकालाई आश्रय दिन भवन निर्माण समेत गर्ने र हिन्दु धर्मको प्रबद्र्धन गर्ने समेत उद्देश्यका साथ महायज्ञ आयोजना गर्न लागिएको आश्रमका अध्यक्ष शेरबहादुर घर्तीले जानकारी दिनुभयो । बुधबार तुलसीपुरमा पत्रकार सम्मेलनको आयोजना गर्दै आश्रमले यस्तो जानकारी गराएको हो ।

महायज्ञबाट २० देखि २५ लाखको बचत हुने र सो बचत भएको रकमले त्यस्ता असहाय तथा भोका रहेकाहरुलाई भोजन लगाएतको ब्यबस्था गरिने उहाँले बताउनुभयो । महायज्ञमा तुलादान, भूमिदान, गौदान तथा पितृदान गर्न सकिने भएको छ ।


त्यसैगरि महायज्ञमा पाँच हजार ५ सय ५५ रुपैया सहयोग गरेर एकदिनका लागि ब्राह्मण भोजन गराउन सकिने भएको छ । त्यस्तै दुईहजार एकसय रुपैयामा एकदिनका लागि प्रसाद सहयोग गर्न सकिने भएको छ । त्यसैगरि ३ हजार एकसय रुपैया सहयोग गरेर एकदिनका लागि बिशेष पुजा गर्न सकिने भएको हो ।

त्यसैगरि ५ हजार एकसय रुपैया सहयोग गरेर व्रतबन्ध, विवाह, ग्रहशान्ती आदि कार्य गर्न सकिने भएको अध्यक्ष घर्तीले बताउनुभएको हो । त्यस्तै महायज्ञमा दैनिक योग विज्ञान शिविर, श्रमदभागवतको पाठ अध्ययन, पुजाअर्चनाका साथै एकहजार ८ सालिग्राम परिक्रमा, राष्ट्रिय कलाकारद्धारा भजनकिर्तनलगाएतका कार्यक्रम सञ्चालन हुने भएका हुन् ।

महायज्ञको प्रमुख कथावाचकमा अच्युतशरण धिताल र उपवाचकमा पंडित अंगिरा जोशीलगाएत रहनुहुने भएको हो । आगामी ३० गतेसम्म सञ्चालन हुने महायज्ञ तुलसीपुर ५ को नयाँबसपार्कमा आयोजना हुने भएको हो ।

आश्रमका अध्यक्ष घर्तीको अध्यक्षतामा पत्रकार सम्मेलन भएको हो । आश्रमका सचिव शम्भु बुढामगरको स्वागत मन्तव्यबाट सुरु भएको सम्मेलनको सहजीकरण रिपोटर्स क्लब दाङका महासचिव बिमल गौतमले गर्नुभएको हो ।