
रोल्पा,१२ जेठ ।
रोल्पामा हावाहुरीसँगै रुख ढल्दा दुई जनाको मृत्यु भएको छ । हावाहुरीसँगै रुख ढल्दा थबाङ गाउँपालिका–२ हेलोबाङका अन्दाजी ६० वर्षका रुजु झाँक्री र सोही ठाँउका ५० वर्षका मनबुजि झाँक्रीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय थबाङले जनाएको हो ।
हिजो सोमबार साँझ पौने ८ बजेतिर थबाङ गाउँपालिका–२ झिङबारी स्थित थबाङ घोराही सहिद मार्ग नजिक रुख ढल्दा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुबै जना थवाङ आधारभूत अस्पतालबाट बिरामी भेटेर घर फर्किने क्रममा झाँक्रीमाथि बाटोमाथिबाट उत्तिसको रुख ढलेर च्यापिएको प्रहरीले जनाएको छ ।
रुजु झाँक्रीको घटनास्थलमै मृत्यु भएको थियो । मनबुझी झाँक्री घाइते अवस्थामा रहेको भनी राती सवा ८ बजेतिर खबर प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा खटि घाइतेलाई उद्धार गरी उपाचारको लागि थवाङ आधारभूत अस्पतालमा पठाइएको थियो ।
उहाँको थप उपचारको लागि कास्की पोखरा लग्ने क्रममा आज मंगलबार बिहान साढे २ बजेतिर बाटो मै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनास्थल इलाका प्रहरी कार्यालय थबाङबाट करिब ११ किलोमिटर दक्षिणमा पर्छ ।



लाइभदाङ । १२ जेष्ठ २०८३, मंगलवार १४:१७ बजे