
प्युठान,२ जेठ ।
प्युठान नगरपालिका–१ खैरास्थित झिमरुक खोलामा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा स्थानीय श्रीधर आचार्यका १४ वर्षीय छोरा नोबेल आचार्य रहेका छन्। जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार शनिबार अपराह्न करिब ४ः३० बजे खोलामा पौडी खेल्ने क्रममा उनी डुबेका थिए।
स्थानीयले घटनाबारे जानकारी दिएपछि प्रहरी निरीक्षक हरि भट्टराईको कमाण्डमा खटिएको प्रहरी टोलीले उनको उद्धार गरेको थियो। उद्धारपछि उपचारका लागि जिल्ला अस्पताल बिजुवार पठाइएकोमा उपचारकै क्रममा साँझ ५ः३० बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी नायब उपरीक्षक नरहरी अधिकारीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।



लाइभदाङ । २ जेष्ठ २०८३, शनिबार २१:०८ बजे