गरगरुवा–करङ्गा सडकखण्डको गुहारखोला पुल निर्माण अन्तिम चरणमा

शरद शर्मा मजगैया
दाङ,२ जेठ ।
गरगरुवा–करङ्गा सडकखण्ड अन्तर्गत पर्ने गुहारखोलामा निर्माणाधीन पुलको काम अन्तिम चरणमा पुगेको निर्माण पक्षले जनाएको छ। लामो समयदेखि स्थानीयवासीले अपेक्षा गरेको उक्त पुल अब केही दिनभित्रै नियमित रूपमा सञ्चालनमा आउने भएको हो।

निर्माण कार्यको प्रगति बारे जानकारी दिँदै कन्ट्याक्ट म्यानेजर सुमन मिश्रले पुल निर्माण तीव्र गतिमा भइरहेको र अधिकांश संरचनात्मक काम सम्पन्न भइसकेको बताउनुभयो। उहाँका अनुसार अहिले अन्तिम चरणको फिनिसिङ तथा व्यवस्थापनको काम भइरहेको छ।

“पुल निर्माण कार्य द्रुत गतिमा अघि बढिरहेको छ। अबको केही दिनभित्रै सम्पूर्ण काम सम्पन्न गरी नियमित रूपमा सञ्चालनमा ल्याइनेछ,” मिश्रले भन्नुभयो।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत सडक विभाग, पुल महाशाखाद्वारा निर्माण भइरहेको उक्त पुल करिब २१० मिटर लम्बाइको रहेको बताइएको छ। पुल सञ्चालनमा आएपछि गरगरुवा–करङ्गा सडकखण्ड हुँदै यात्रा गर्ने स्थानीयवासीलाई वर्षायाममा हुने सास्तीबाट ठूलो राहत मिल्ने अपेक्षा गरिएको छ।


यस पुलले तुलसीपुर उपमहानगरपालिका–१२ र १५ का बासिन्दालाई प्रत्यक्ष लाभ पुग्ने विश्वास गरिएको छ। विशेष गरी विद्यार्थी, किसान, व्यापारी तथा दैनिक आवतजावत गर्ने सर्वसाधारणलाई सहज यातायात सुविधा उपलब्ध हुने स्थानीयहरूको भनाइ छ।

स्थानीयवासीका अनुसार वर्षौंदेखि गुहारखोलामा आवतजावत गर्न समस्या हुँदै आएको थियो। वर्षाको समयमा खोला बढेपछि जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता थियो। तर पुल निर्माण सम्पन्न हुने चरणमा पुगेपछि स्थानीयमा उत्साह थपिएको छ।

सरकारको पूर्वाधार विकास अभियान अन्तर्गत निर्माण भइरहेको यो पुल क्षेत्रकै महत्वपूर्ण विकास आयोजनामध्ये एक मानिएको छ। पुल सञ्चालनमा आएपछि स्थानीय व्यापार, कृषि उत्पादनको ढुवानी तथा समग्र आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।