बाढी पीडितका लागि राप्ती अंचल ढुवानी व्यवसायी संघद्वारा २५ हजार सहयोग

तुलसीपुर, १५ भदौ ।
राप्ती अञ्चल ढुवानी व्यवसायी संघ, तुलसीपुर दाङले रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोजी, उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ।

प्राकृतिक विपद्का कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवनलगायतका जिल्लामा मानवीय तथा भौतिक क्षति हुनुका साथै नागरिकको दैनिक जीवनसमेत प्रभावित भएको अवस्थालाई मध्यनजर गर्दै संघले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरेको जनाएको छ।

संघका अध्यक्ष खेमजंग बस्नेतले विपद्को समयमा पीडित नागरिकलाई सहयोग गर्नु सबैको साझा दायित्व भएको बताउनुभयो। उहाँले बाढी तथा पहिरोजस्ता प्राकृतिक विपद्बाट प्रभावित नागरिकको खोजी, उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन सहयोग पुगोस् भन्ने उद्देश्यले संघका तर्फबाट सहयोग गरिएको बताउनुभयो।


संघले बाढी तथा प्राकृतिक विपद्का कारण ज्यान गुमाउने सम्पूर्णप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ। साथै, बेपत्ता भएकाहरूको शीघ्र खोजी तथा उद्धार र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ।

राप्ती अञ्चल ढुवानी व्यवसायी संघले ढुवानी व्यवसायीहरूको हकहित, व्यवसायिक सुरक्षा तथा पेशागत समस्या समाधानका लागि निरन्तर काम गर्दै आएको छ । ढुवानी व्यवसायीले भोग्दै आएका समस्या सम्बन्धित निकायसम्म पुर्‍याउने, व्यवसायीबीच सहकार्य र एकता कायम गर्ने तथा आवश्यकताअनुसार सामाजिक कार्यमा समेत संघ सक्रिय रहँदै आएको छ।

संघले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत आवश्यक सहयोग तथा मानवीय सेवाका कार्यमा आफ्नो भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ।