लोपोन्मुख पन्चेबाजा संरक्षणमा महिलाको अग्रसरता, लमहीमा २० दिने तालिम सुरु

प्रिया स्मृती गजमेर
देउखुरी,२८ वैशाख ।
नेपाली मौलिक कला, संस्कृति र परम्पराको महत्वपूर्ण पहिचानका रूपमा रहेको पन्चेबाजाको संरक्षण, संवर्द्धन तथा नयाँ पुस्तामा यसको हस्तान्तरण गर्ने उद्देश्यले लमही नगरपालिकाले २० दिने पन्चेबाजा तालिम सुरु गरेको छ । पछिल्लो समय आधुनिक बाजागाजा र प्रविधिको प्रभावका कारण गाउँघरमा बजाइने परम्परागत पन्चेबाजा लोप हुने अवस्थामा पुगेपछि यसको संरक्षणका लागि स्थानीय तहले विशेष पहल थालेको हो ।

लमही नगरपालिका वडा नम्बर ३ मा आजदेखि सुरु भएको तालिमको उद्घाटन लमही नगरपालिकाकी उपप्रमुख लक्ष्मी योगीले गर्नुभएको हो । उद्घाटन कार्यक्रममा बोल्दै उपप्रमुख योगीले नेपाली मौलिक संस्कृतिको धरोहरका रूपमा रहेको पन्चेबाजाको संरक्षण आजको आवश्यकता भएको बताउनुभयो । उहाँले पछिल्लो समय विवाह, व्रतबन्ध, पूजा तथा अन्य सामाजिक तथा धार्मिक कार्यक्रममा पन्चेबाजाको प्रयोग घट्दै गएको भन्दै यसको संरक्षणका लागि स्थानीय सरकार गम्भीर रहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “हाम्रो पहिचानसँग जोडिएका यस्ता मौलिक बाजाहरु हराउँदै जानु दुःखद पक्ष हो । नयाँ पुस्तालाई यसको महत्व बुझाउँदै सीप हस्तान्तरण गर्न आवश्यक छ । विशेषगरी महिलाहरुले पन्चेबाजा सिक्न देखाएको उत्साहले हामीलाई थप हौसला दिएको छ । महिलाहरुले परम्परागत रूपमा पुरुषप्रधान मानिएको क्षेत्रमा सहभागिता जनाउनु आफैंमा सकारात्मक परिवर्तनको संकेत हो ।”

उपप्रमुख योगीले स्थानीय कला र संस्कृतिको संरक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले पनि यस्ता सीपमूलक कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । तालिमबाट सिकेको सीपलाई सहभागी महिलाहरुले भविष्यमा आयआर्जनको माध्यमका रूपमा समेत प्रयोग गर्न सक्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा लमही नगरपालिका वडा नम्बर ३ का कार्यबाहक वडा अध्यक्ष सुमन कुमार अधिकारीले पन्चेबाजा नेपाली समाजको संस्कार, परम्परा र धार्मिक आस्थासँग गहिरो रूपमा जोडिएको उल्लेख गर्नुभयो । उहाँले विगतमा हरेक शुभकार्यमा अनिवार्यजस्तै प्रयोग हुने पन्चेबाजा अहिले विस्तारै विस्थापित हुँदै जान थालेको भन्दै यसको संरक्षणमा सबै पक्षले चासो दिनुपर्ने बताउनुभयो ।

“स्थानीय स्तरमै यस्ता तालिम सञ्चालन हुँदा संस्कृति संरक्षण हुनुका साथै महिलाहरुले नयाँ सीप सिक्ने अवसर पनि पाएका छन्,” उहाँले भन्नुभयो, “महिलाहरुको सहभागिताले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको छ र यसले अन्य महिलाहरुलाई पनि प्रेरणा दिनेछ ।”


जखेरा टोल विकास समितिका अध्यक्ष रवीध्वज थापाले गाउँघरमा बजाइने मौलिक बाजाहरु अहिले हराउने अवस्थामा पुगेकाले यसको संरक्षणका लागि सामूहिक प्रयास आवश्यक रहेको बताउनुभयो । उहाँले गाउँमा हुने विभिन्न संस्कार तथा उत्सवमा पुनः पन्चेबाजाको प्रयोग बढाउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

तालिममा गढवा पन्चेबाजा समूहका अनुभवी प्रशिक्षक रेशम बहादुर शाही र रिम बहादुर नेपालीले प्रशिक्षण दिइरहनुभएको छ । तालिम अवधिभर सहभागीहरुलाई पन्चेबाजाका विभिन्न बाजा बजाउने तरिका, ताल, लय, प्रस्तुति शैली तथा व्यावहारिक अभ्यास गराइने जनाइएको छ ।

२० दिने तालिममा २० जना महिलाहरुको सहभागिता रहेको छ । सहभागी महिलाहरुले पन्चेबाजा सिकेर आफ्नो संस्कृति जोगाउन पाउँदा खुशी लागेको बताएका छन् । उनीहरुले तालिमले आफूहरुलाई नयाँ सीप सिकाउनुका साथै सामाजिक कार्यक्रममा सहभागिता जनाउने अवसर प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

कार्यक्रमको सञ्चालन लमही नगरपालिका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख मेनका खड्काले गर्नुभएको थियो । उहाँले महिलाहरुलाई सीपयुक्त बनाउँदै स्थानीय मौलिक संस्कृति जोगाउने उद्देश्यले तालिम सञ्चालन गरिएको जानकारी दिनुभयो ।

स्थानीय स्तरमा यस्ता कार्यक्रम सञ्चालन हुन थालेपछि हराउँदै गएको मौलिक संस्कृतिको संरक्षणमा सकारात्मक सन्देश गएको स्थानीयवासीको भनाइ छ । आधुनिकतासँगै ओझेलमा पर्दै गएका परम्परागत बाजाहरुलाई पुनर्जीवित गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने अपेक्षा गरिएको छ ।