जेनजी आन्दोलनमा फरार दुई प्रतिवादी सात महिनापछि पक्राउ

विराटनगर,२० चैत।
मोरङको इलाका प्रहरी कार्यालय पथरीको हिरासतबाट फरार भएका दुई जना प्रतिवादीलाई प्रहरीले पुनः पक्राउ गरेको छ ।

लागू औषध मुद्दामा अनुसन्धानका लागि हिरासतमा रहेका बेला गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा उनीहरू फरार भएका थिए ।

पक्राउ पर्नेमा मोरङको लेटाङ नगरपालिका वडा नमबर ३ बस्ने २४ वर्षीय सुवर्ण राई र २१ वर्षीय सुमन राई रहेका छन् । उनीहरूलाई इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको विशेष प्रहरी टोलीले चैत १९ गते उनीहरूकै घर ठेगानामा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारेको हो ।


जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार, २०८० भदौ २३ र २४ गते भएको आन्दोलनको क्रममा सिर्जना भएको तनावपूर्ण स्थितिको फाइदा उठाउँदै यी दुई प्रतिवादी हिरासतबाट भाग्न सफल भएका थिए ।

उनीहरूलाई अहिले इलाका प्रहरी कार्यालय पथरीमा राखेर आवश्यक कानुनी कारबाही र थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक ९डीएसपी० लिलाराज लामिछानेले जानकारी दिए।