
दीपक बोहरा
दाङ, २४ चैत । दाङको बबई गाउँपालिका वडा नं. ४ चितलगैरा सामुदायिक स्थित बनमा मृत भेटिएकी सोही ठाउँकी १४ बर्षीया किशोरी अनु खत्री मृत्यु प्रकरणमा धनुसा जिल्लाको जनकपुर उपमहानगरपालिका ८ निवासी २७ बर्षीया नविन भनिने निभा साहलाई पक्राउ गरि अनुसन्धान गरिएको छ । उनी विरुद्धको अनुसन्धान सकेर हाल अदालतमा मुद्दा चलिरहेको छ । सरकारी वकिल कार्यालय दाङले १५ वैशाखमा अदालतमा मुद्दा पेश गरेको थियो ।
त्यस क्रममा निभाले प्रहरीसंग आफू महिला भएको बयान दिएकी छन् । “म महिला हुँ, म सानो उमेर हुँदा देखि महिलाप्रति आकर्षण हुन्थ्यो”,उनको बयान छ“ त्यसैले म यौन तथा लैंगिक अल्पसंख्यक समुदाय‘एलजीविटिक्यू’ मा समेत आबद्ध थिए।”
यस्तो छ, निभाले प्रहरीलाई दिएको बयानको संक्षेप
अनु खत्रीसंग टिकटकमा निभाको सम्पर्क भएको थियो । २०८२ कात्तिकमा टिकटकमा भेट
भएर फोन नम्बर साटफेर भयो । त्यसपछि सामाजिक सञ्जालमै नियमित कुराकानी भएपछि उनीहरु प्रेममा परे । निभा भेट्नकालागि भनेर मंसिरमा अनुको घर समेत आएकी थिइन । एक दिन घर बसेपछि आफू पुनः जनकपुर फर्किएको निभाको बयान छ । पछि उनीहरुबीच विवाह गर्ने सहमति भएपछि पुसमा घरमै आएर अनुलाई जनकपुर लिएर गएको उनले प्रहरी समक्ष बयान दिएकी छन् । उनीहरु एक महिना भन्दा बढि जनकपुर कोठा भाडामा बसे ।
त्यसपछि दुबै जना माघ २९ गते अनुको घरमा आए । माघ ४ गते उनीहरु
जनकपुर फर्किने भनेर हापुरेबाट तुलसीपुर पुगेको अबस्थमा आफन्तीले तुलसीपुर बसपार्कबाट फर्काएर लिएका थिए । अनुलाई फर्काएपछि आफू जनकपुर गएको निभाको बयान छ । त्यसपछि चैत १३ गते पुनः अनुलाई लिन निभा घरमै आइँन । त्यतिबेला अनुको कक्षा ८ को परीक्षा चलिरहेको थियो । उनले परीक्षा दिने विद्यालयको नजिकै पगेर अनुको मामाको छोरीलाई निभाले फोन गरेर अनुसंग सम्पर्क गरिन । ११ः५० तिर उनले मामाको छोरीलाई फोन गरेपछि त्यसको केही समयमा अनुसंग भेट भयो । नजिकको शिवमन्दिरमा भेट भएका उनीहरु त्यहाँबाट भ्यूटावर जाने सल्लाह भयो। जाँदै गर्दा उनीहरु बीचमा जंगलमा बसेर कुराकानी गरे । त्यस क्रममा सोही दिन दिउसो ३ बजेतिर अनुले म तिमीसंग छुट्टिएर बस्न सक्दिन भनेको कुरा निभाले बयान दिएकी छन् । त्यही विषयलाई लिएर यो घटना भएको उनको बयान छ ।
अनुको मृत्यु पछि निभा हिड्दै हापुरे बजार आइन । हापुरेबाट तुलसीपुर–घोराही हुँदै घोराही बाट साढे ६ बजेको बस चढेर महेन्द्रनगर पुगेको उनको बयान छ । “त्यसपछि महेन्द्रनगरबाट पुनः १५ गते विहान हापुरे स्थित घटना स्थल पुगेँ”,उनले भनेकी छन्“ मैले अनुलाई घटनास्थलमा मृत देखेपछि जनकपुर फर्किएँ, त्यही क्रममा घोराही पुगेको बेला टिकटकबाट अनुको बहिनी समीक्षा डाँगीलाई म्यासेज गरेँ ।”
बुटवल पुग्दै गर्दा निभाले अनुको वुवालाई पनि म्यासेज गरेको बयान दिएकी छन् । त्यही क्रममा १६ गते विहान काठमाडौं पुगेर १८ गते जनकपुर स्थित साथीको घरमा गइन । त्यसपछि पुनः १९ गते काठमाडौं गएको अबस्थामा साँझ साढे ७ बजेतिर प्रहरीले आफूलाई पक्राउ गरेको निभाको बयान रहेको छ ।
अनुको शव चैत १६ गते भेटिएको थियो । त्यसको तीन दिन पछि निभालाई पक्राउ गरिएको हो । निभाले आफूले पनि पटक–पटक आत्महत्या गर्न प्रयास गरेको समेत बयान दिएकी छन् ।



लाइभदाङ । २४ बैशाख २०८३, बिहीबार १४:४९ बजे