बेलझुण्डी रंगशाला : निर्माण भयो, हस्तान्तरण भएन

अन्जना बिश्वकर्मा,
दाङ,११ बैशाख ।
दाङमा बहुउद्देश्यीय रंगशाला निर्माण भएपनि हस्तान्तरण हुन सकेका छैनन् । दाङ तुलसीपुर १७ बेलझुण्डी स्थित रंगशाला निर्माण भएको तीन वर्ष भयो,तर, हस्तान्तरण भएको छैन । एथ्लेटिक्स र फुटबल रंगशाला निर्माण भएको लामो समय भएपनि हस्तान्तरण हुन नसकेको दाङ जिल्ला खेलकूद विकास समितिका प्रमुख शान्ती सोमैले बताईन् । “रंगशाला निर्माण भएको २०७६ सालमा हो”,उनले भनिन् “तर, किन हो, अझै हस्तान्तरण भएको छैन ।”

अन्तर्राष्ट्रिय स्तरको उक्त रंगशालामा आठौं राष्ट्रिय फुटबल तथा एथ्लेटिक्स प्रतियोगिता भएका हुन् । हस्तान्तरण नहुँदा आफूहरूलाई संरक्षणमा समस्या हुने गरेको उनको भनाई छ । अहिले जसो तसो संरक्षण गरेको भएपनि पूर्ण अधिकार नहुँदा गाह्रो भएको उनको भनाई छ । उक्त रंगशाला निर्माण गरेको ठेकेदारले कर्णालीमा हुने १० औं राष्ट्रिय खेलकूद प्रतियोगिताको रंगशाला निर्माण गरिरहेको छ ।

राष्ट्रिय खेलकूद परिषद् तथा प्रदेशस्तरको खेलकूद परिषद् कसले रंगशालाको संरक्षण र मातहतमा रहने विषय नटुंगिएपछि हस्तान्तरणमा समस्या भएको परिषद्का सदस्य सचिव टंकलाल घिसिङले जानकारी दिए । कानुन अभावमा यस्तो समस्या देखिएको हो । २४ करोड २४ लाख रूपैयाँ लागतमा उक्त रंगशाला निर्माण भएको हो । दिवा एमए प्रतिष्ठा जेभीले भिआइपी प्याराफिटसहित रंगशाला निर्माण गरेको हो ।

रंगशालामा भिआइपी प्याराफिट, बाथरूम, बिजुली र रंगरोगनसमेत गरिएको छ । रंगशालामा फूटबल मैदानका साथै सेन्थेटिक ट्रयाक पनि निर्माण गरिएको छ । जुन मोफसलमा पहिलो हो । त्यहाँ भिआइपी प्याराफिटभित्र खेलाडीका लागि चेञ्जिङ रूम, अफिस, कन्फ्रेन्स हल, रेफ्रीका लागि छुट्टै कोठा निर्माण गरिएको छ । रंगशालाको पश्चिमतर्फ निर्माण गरिएको भिआइपी प्याराफिटमा चार सय १२ सिट छन् ।

रंगशालाको पूर्वी भागमा दर्शकका लागि साधारण प्याराफिट निर्माण गरिएको छ । भिआइपी प्याराफिटका लागि आवश्यक धातु तथा दर्शक बस्ने सिटहरू मलेसियाबाट ल्याईएको हो । रंगशालामा प्रयोग गरिएका तारबार समेत विदेशबाटै ल्याईएको हो  ।


फिफा मापदण्डअनुसार निर्माण गरिएको फूटबल मैदानमा बरमुडा दुबो रोपिएको छ । यो दुबो भारतको कोलकताबाट ल्याएर रोपिएको हो ।

लमही क्रिकेट रंगशालाको अवस्था पनि त्यस्तै
दाङ देउखुरीको लमहीको निर्माणाधिन क्रिकेट मैदानको अवस्था पनि उस्तै छ । अहिले एउटा प्याराफिट निर्माण भइसकेको छ, भने अर्को तर्फको प्याराफिट निर्माणका काम जारी छ । त्यस्तै भिईपी प्याराफिट र टावर निर्माणको काम भइरहेको नगर विकास समितिका सबइन्जिनियर तुलसीराम अर्यालले बताए ।

उनका अनुसार अहिलेसम्म त्यहाँ मैदान निर्माण, अन्डर ग्राउन्ड, प्याराफिट, टावरलगायतमा गरि नगर विकास समितिको ९ करोड बढि लगानी भएको छ । त्यो लगानी अनुसार नगर विकास समितिले पनि आम्दानी लिनु पर्ने उनले बताए । “अहिले हामीले सबै कुरा हस्तान्तरण गर्ने भन्ने हुँदैन, हामीले मैदान क्यानलाई दिन्छौं”,उनले भने “टिकेट लिने,सटर भाडा लिने सन्दर्भमा हाम्रो सर्त रहन्छ नै, त्यो बाहेक मैदान हामीले क्यानलाई हस्तान्तरण गर्छाैं ।”

नेपाल क्रिकेट संघलाई संरक्षणकालागि हस्तान्तरण गर्नुपर्ने भएपनि अहिलेसम्म हस्तान्तरण हुन नसकेको देउखुरी क्रेकट क्लवका सचिव ओमप्रकाश सुवेदीले बताए । उक्त रंगशाला निर्माण थालिएको २३ वर्ष बढि भयो । सोही मैदानमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता पनि भएको हो । राष्ट्रिय खेलकूद प्रतियोगिता हुने भएपछि मात्रै त्यहाँ क्रिकेट मैदानको काम तिब्र रूपमा अघि बढाईएको थियो । उक्त रंगशाला चार हेक्टर क्षेत्रफलमा फैलिएको छ । साभारः अग्रिम साप्ताहिक