मोटर बिग्रिएपछि खुमखानीमा खानेपानीको हाहाकार

दाङ,२२ बैशाख ।
दाङको तुलसीपुर उपमहानगर–पालिका वडा नं.४ स्थित विकट क्षेत्र खुमखानीमा खानेपानीको हाहाकार भएको छ । त्यहाँ रहेको सोलार सिस्टम विग्रिएपछि खानेपानीको हाहाकार भएको हो ।यस अघि स्थानीय माथिल्लो पधेराबाट लिफ्टङ गरेर खुमखानी लगिएको थियो ।तर, पछिल्लो एक महिना देखि पानी तान्ने मोटर विग्रिएपछि खानेपानीको हाहाकार भएको स्थानीय अमर घर्तीले बताए । खानेपानीको मोटर विग्रिदा त्यहाँका ३५ घरधुरी प्रभावित छन् । हाल पानी ल्याउन दुई घण्टा हिड्नुपर्ने अबस्था रहेको उनको भनाई छ ।“अहिले खानेपानीको मोटर विग्रिदा गाउँमा पानी आएको छैन”,उनले भने“अहिले दुई घण्टा हिडेर माथिल्लो पधेराको मुहानमा खानेपानी ल्याउनु पर्ने अबस्था छ ।” १२ बर्ष पहिले त्यहाँ कादुरी व्रिटिस संस्थाले सोलार मार्फत लिफ्टिङ गरेर पानी ल्याउने गरेको थियो ।


खानेपानीको हाहाकार हुँदा त्यहाँका नागरिक पलायन हुने अबस्था रहेको समेत उनको भनाई छ ।“१२ बर्ष भन्दा अघि खानेपानी नहुँदा धेरै घर बसाइसराई गरेका थिए”,उनले भने“अब पनि पानी नआउने अबस्था भएमा गाउँ नै पलायन हुने अबस्था आउन सक्छ ।” यस विषयमा तुलसीपुर उपमहानगर–पालिका, विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरमा गएको भएपनि समाधान तर्फ ध्यान नदिएको तुलसीपुर ४ निवासी जितबहादुर थापाले बताए ।