
दाङ,१५ वैशाख ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं.११ सुकौरास्थित थारु राजा दंगीशरणल राज गरेको स्थानका अवलोकन गर्नुभएको छ । सोमबार उहाँले दरवार क्षेत्रको अबलोकन गर्नुभएको हो । त्यस अवसरमा उहाँले पुरातात्विक सम्पदाहरूको संरक्षण गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
उहाँले आवश्यक पूर्वाधार विकास, संरक्षणका वैज्ञानिक उपाय तथा प्रचारप्रसारमार्फत दंगीशरण दरबार क्षेत्रलाई महत्वपूर्ण पर्यटकीय केन्द्रका रुपमा विकास गरिने बताउनुभयो । अनुगमनमा मुख्यमन्त्री आचार्यसहित पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपाने, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्का लगायतको सहभागिता रहेको थियो । साथै टोलीले दरबार क्षेत्रको वर्तमान अवस्था, उत्खननको प्रगति तथा संरक्षणका आवश्यक पक्षबारे स्थलगत जानकारी लिएको थियो । केही समयअघि पुरातत्व विभागले यस क्षेत्रमा गरेको उत्खननका क्रममा महत्वपूर्ण पुरातात्विक सामग्रीहरू फेला परेका थिए । थारू राजा दंगीशरण सुकौरा दरबार सभ्यता कोष समितिको पहलमा उत्खननका क्रममा भेटिएका सामग्री सार्वजनिक गरिएका हुन् ।
उत्खननबाट लिच्छवीकालीन इँटादेखि थारू समुदायले पूजाआजा गर्दै आएको माटोको घोडाको आकृति, महिलाले लगाउने चुरा, धनुषका तीर, फलाम तथा तामाका औँठी, माटोका दियो, घैटौं, गोल्द्रा, भोक्टी लगायतका सामग्री फेला परेका छन् । लिच्छवीकाल अर्थात करिब छैटौँ शताब्दीका मानिने इँटा भेटिनुले यस क्षेत्रको ऐतिहासिक महत्व अझ पुष्टि भएको छ । दरबार क्षेत्रमा यसअघि २०६३ /२०७१ सालमा उत्खनन गरिसकिएको थियो भने हाल तेस्रो चरणको उत्खनन सम्पन्न गरिएको हो ।



लाइभदाङ । १५ बैशाख २०८३, मंगलवार ०६:१६ बजे