उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन आज गरिने

काडमाडौं, २६ असोज ।
निर्वाचन आयोगले मङ्सिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्दैछ ।

पूर्व निर्धारित निर्वाचन कार्यतालिका अनुसार आयोगले आज दिउँसो १ बजेदेखि ३ बजेसम्म उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्ने बताएको छ । अन्तिम नामावली प्रकाशित हुनुअघि कसैले आफ्नो उम्मेदवारी फिर्ता लिने भए लिनसक्ने आयोगले जनाएको छ । उम्मेदवारी फिर्ता लिने समय आज बिहान १० बजेदेखि १ बजेसम्मका लागि निर्धारण गरिएको छ ।

पार्टीले वितरण गरेको टिकटबाट असन्तुष्टहरूले बागी उम्मेदवारी दिएकाले तिनीहरूको उम्मेदवारी फिर्ता गराउने प्रयास राजनीतिक दलका नेताहरूले जारी राखेका छन् ।सत्ता गठबन्धनका शीर्ष नेताहरूले हिजो संयुक्त सूचना जारी गरी बागी उम्मेदवारहरूलाई आज दिउँसो १ बजेभित्र उम्मेदवारी फिर्ता लिन भनेका छन् । यदि फिर्ता नलिए पार्टीबाट निष्कासन गर्ने चेतावनीसमेत उनीहरूले दिएका छन् ।

उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन पछि आजै चुनाव चिह्न पनि वितरण गरिने कार्यतालिका रहेको छ । राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका उम्मेदवारहरूको चुनाव चिह्न साविककै हुनेछ भने स्वतन्त्रतर्फका उम्मेदवारहरूलाई आयोगले कुनै एउटा चिह्न रोज्न लगाउने छ ।


चुनाव चिह्न वितरणको काम भने आजै अपराह्न ४ बजेदेखि बेलुका ७ बजेसम्म निर्धारण गरिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।