मेट्रो कलेजको कानूनी सचेतना अभियान

तुलसीपुर, १५ असोज ।
रुकुम झुल्नेटामा रहेको युवा जनजागरण मावि कक्षा १० मा अध्ययनरत प्रतिमा केसीले फुर्सदको समयमा सामाजिक सञ्जाल चलाउने गर्छिन । तर उनलाई यसले निम्त्याउने कानुनी जटिलताका बारेमा केही पनि थाहा थिएन । सामाजिक सञ्जालका कानुनी प्रावधान र समाजमा घटेका घटनाका बारेमा जानकारी पाएपछि अहिले उनले सजग भएर सामाजिक सञ्जाल चलाउने गर्दछिन् ।

उनको भन्दा केही फरक अनुभव छ सरस्वति मावि बागचौरमा अध्ययन गर्ने विमला पुनको । उनलाई साना साना घटना पनि महिला हिंसा हुन् भन्ने बारेमा थाहै थिएन । कानुनी सचेतना कार्यक्रममा त्यसका बारेमा जानकारी लिएपछि उनी पनि सजग हुन थालेकी छिन् ।


तुलसीपुर मेट्रो कलेज कानून संकायका विद्यार्थीहरुले गाउँगाउँमा पुगेर कानूनी सचेतना कार्यक्रम सञ्चालन गरिरहेका छन् । कलेजको बिएएलएलबी चौथो सेमेस्टरमा अध्ययनरत विद्यार्थी दिपेश खड्काले सल्यान र रुकुमका विभिन्न विद्यालयमा पुगेर विद्यार्थीहरुलाई अत्यावश्यक कानूनी प्रावधानका बारेमा जानकारी गराएका छन् ।

उनले विद्यार्थीहरुलाई बालविवाह,बाल अधिकार र साइबर कानून सम्बन्धि जानकारी दिएका छन् । रुकुम झुल्नेटाको युवा जनजागरण मावि,सल्यान दार्मागाउँपालिकाको मधु सहिद स्मृति मावि, शिवरथ सल्यानको सरस्वति मावि र सल्यान गोठीवनको सुर्योदय माविका करिव ५ सय विद्यार्थीहरुलाई उनले कानुनी सचेतना प्रदान गरेका हुन् । कलेजले केही समय अगाडी तुलसीपुर उपमहानगरपालिका भित्रका १ हजार आमाहरुलाई कानुनी सचेतना कार्यक्रम प्रदान गरेको थियो ।