राप्तीमा आधारभूत स्काउट तालिम सुरु

मसुरिया,११ वैशाख।
दाङको राप्ती गाउँपालिकामा ४६३ औँ पी.टी.सी. अन्तर्गत ६ दिने स्थानीय आधारभूत स्काउट तालिम सुरु भएको छ।
तालिम वडा नं. ३ मसुरियास्थित दुर्गा भवानी आधारभूत विद्यालयमा सुरु भएको हो। राप्ती गाउँपालिकाको आयोजना तथा स्थानीय स्काउट कार्यालय राप्तीको व्यवस्थापनमा सुरु भएको उक्त तालिमको उद्घाटन शुक्रबार गाउँपालिका अध्यक्ष तथा स्थानीय स्काउट संरक्षक प्रकाश विष्टले गर्नुभएको हो।

उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष विष्टले स्काउट तालिमले विद्यार्थी तथा युवाहरूमा अनुशासन, नेतृत्व क्षमता, आत्मनिर्भरता र सामाजिक सेवाको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले यस्ता तालिमले सक्षम र जिम्मेवार नागरिक उत्पादनमा टेवा पुग्ने उल्लेख गर्दै सहभागीहरूलाई तालिमबाट प्राप्त ज्ञान र सीप व्यवहारमा लागू गर्न आग्रह गर्नुभयो। तालिममा विभिन्न विद्यालयका २१ जना शिक्षिकाहरूको सहभागिता रहेको छ। सहभागीहरूलाई स्काउटका आधारभूत सिद्धान्त, टोली व्यवस्थापन, प्राथमिक उपचार, विपद् जोखिम न्यूनीकरण, वातावरण संरक्षण तथा नेतृत्व विकाससम्बन्धी विषयमा प्रशिक्षण प्रदान गरिने आयोजकले जनाएको छ।


स्थानीय स्काउट राप्ती गाउँपालिका प्रमुख आयुक्त छबिलाल कडेलको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष तथा स्थानीय स्काउट कार्यालय राप्तीका अध्यक्ष कमलापति चौधरी, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख वरिष्ठ शिक्षा अधिकृत विश्वास विक, वरिष्ठ लेखा अधिकृत लेखा भण्डारी, प्रशिक्षक सुशीला कुमारी विष्ट, दुर्गा भवानी आधारभूत विद्यालयका प्रधानाध्यापक केशवराज आचार्य, पब्लिक एजुकेशन एकेडेमी लालमटियाका प्रधानाध्यापक चम्पकराज कार्की, प्याप्सन राप्तीका अध्यक्ष रामप्रसाद शर्मा तथा एन(प्याप्सन राप्तीका अध्यक्ष गिरिराज पौडेललगायतको उपस्थिति रहेको थियो। ६ दिनसम्म सञ्चालन हुने उक्त तालिमले स्थानीय स्तरमा स्काउट गतिविधि सुदृढीकरण गर्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। तालिमको प्रशिक्षकका रूपमा सुशीला कुमारी विष्ट रहनुभएको छ भने काउन्सिलरहरूमा छबिलाल कडेल, तारा पौडेल, इश्वरा कुमारी पाठक र दुर्गा डाँगी रहनुभएको छ।