
दाङ, १४ असोज ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसीयूमा २६ दिनदेखि एक जना बिरामी बेवारिसे अवस्थामा उपचाररत छन्। कोहलपुर घर भएका ४१ वर्षीय प्रकाश चौधरीलाई परिवारजन तथा आफन्तको सम्पर्कबिनै प्रतिष्ठानले निरन्तर उपचार सेवा दिइरहेको छ।
चौधरी विगत २६ दिनदेखि आईसीयूमा उपचाररत रहेको प्रतिष्ठानका अस्पताल निर्देशक सहप्राध्यापक डा. सुरेश रसाइलीले जानकारी दिनुभयो। उहाँका अनुसार चौधरीको उपचारका क्रममा हालसम्म अस्पतालतर्फ बेड चार्जसहित इन्भेष्टिगेसनमा ५१ हजार ७ सय ५० रुपैयाँ र औषधितर्फ १ लाख ५५ हजार २ सय ४६ रुपैयाँ खर्च भएको छ। यसरी चौधरीको उपचारमा हालसम्म कुल २ लाख ६ हजार ९ सय ९६ रुपैयाँ खर्च भइसकेको छ।
लामो समयदेखि आईसीयूमा उपचाररत चौधरीका परिवारजन तथा आफन्त हालसम्म अस्पतालको सम्पर्कमा नआएको डा। रसाइलीले बताउनुभयो। परिवारजनको उपस्थिति नभए पनि अस्पतालले मानवीय दायित्वअन्तर्गत चौधरीको उपचारलाई निरन्तरता दिइरहेको उहाँले जानकारी दिनुभयो।
त्यस्तै, लमहीका ३१ वर्षीय सन्तोष क्षेत्री पनि विगत ६ दिनदेखि प्रतिष्ठानको इमरजेन्सीमा बेवारिसे अवस्थामा उपचाररत छन्। क्षेत्रीको उपचारमा अस्पतालतर्फ इन्भेष्टिगेसनमा १ हजार २ सय रुपैयाँ र फार्मेसीतर्फ करिब ६५ हजार रुपैयाँ खर्च भएको छ। बेड चार्जसमेत जोड्दा उनको उपचारमा हालसम्म करिब ७० हजार रुपैयाँ खर्च भएको डा। रसाइलीले जानकारी दिनुभयो।
क्षेत्रीका परिवारजन तथा आफन्त पनि हालसम्म अस्पतालको सम्पर्कमा नआएको प्रतिष्ठानले जनाएको छ। दुवै बिरामीको उपचार तथा हेरचाह अस्पतालले आफ्नै तर्फबाट आवश्यक व्यवस्थापन गर्दै आएको छ।
अस्पताल निर्देशक डा। रसाइलीले दुवै बिरामीका परिवारजन, आफन्त वा उनीहरूलाई चिन्ने व्यक्तिलाई प्रतिष्ठानसँग सम्पर्क गर्न आग्रह गर्नुभएको छ। लामो समयदेखि परिवारको सम्पर्कबाहिर रहेका बिरामीको उपचारमा निरन्तर खर्च भइरहेको र उपचार तथा व्यवस्थापनका लागि परिवारजनको समन्वय आवश्यक रहेको उहाँले बताउनुभयो।
दुवै बिरामीका परिवारजन वा आफन्तबारे जानकारी हुने व्यक्तिले प्रतिष्ठानसँग सम्पर्क गरी उनीहरूको परिवारसम्म सूचना पुर्याउन सहयोग गरिदिनसमेत आग्रह गरिएको छ।



लाइभदाङ । १४ आश्विन २०८३, बुधबार १५:४२ बजे