
दाङ, १५ असोज ।
नेपाली कांग्रेसका युवा नेता अनुराग खड्का ६ सय ६१ मत प्राप्त गर्दै केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन ।
दाङमा सम्पन्न निर्वाचनमा युवा समूहबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि खड्कासहित चार जनाको उम्मेदवारी परेको थियो । प्रतिनिधि छनोट सर्वसम्मतिबाट गर्ने प्रयास भए पनि सहमति जुट्न नसकेपछि निर्वाचनमार्फत प्रतिनिधि छनोट गरिएको हो ।
खड्का नेपाली कांग्रेसका प्रभावशाली नेता तथा स्वर्गीय खुमबहादुर खड्काका छोरा हुन । उनी हाल लुम्बिनी प्रदेशसभा सदस्यसमेत छन । यसअघि नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा पनि अनुराग खड्का केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका थिए। त्यसबेला पनि उनले लोकप्रिय मत प्राप्त गरेका थिए ।
२०७९ सालको प्रदेशसभा निर्वाचनमा दाङ निर्वाचन क्षेत्र नम्बर १९२० बाट नेपाली कांग्रेसका उम्मेदवार बनेका खड्का नेकपा एमालेका उम्मेदवार कुलबहादुर केसीलाई पराजित गर्दै प्रदेशसभा सदस्य निर्वाचित भएका थिए। निर्वाचनमा खड्काले १६ हजार २ सय २२ मत प्राप्त गर्दा केसीले १३ हजार १ सय ७० मत प्राप्त गरेका थिए ।
अनुरागका पिता स्वर्गीय खुमबहादुर खड्का नेपाली कांग्रेसका प्रभावशाली नेताका रूपमा परिचित थिए । उनले पार्टीको प्रतिनिधित्व गर्दै विभिन्न महत्वपूर्ण मन्त्रालयहरुको जिम्मेवारी सम्हालेका थिए । दाङमा कांग्रेसको संगठन विस्तार तथा पार्टी कार्यकर्तासँगको सम्बन्धका कारण खड्काको छुट्टै राजनीतिक प्रभाव रहेको कांग्रेसका नेता–कार्यकर्ताले बताउँदै आएका छन ।
खुमबहादुर खड्काले लामो समय नेपाली कांग्रेसको संगठन निर्माणमा सक्रिय भूमिका निर्वाह गरेका थिए । पार्टीका स्थानीय नेता तथा कार्यकर्तासँग प्रत्यक्ष सम्पर्कमा रहने र संगठनलाई सक्रिय बनाउन भूमिका खेल्ने नेताका रूपमा उनलाई कांग्रेसका कार्यकर्ताले स्मरण गर्ने गरेका छन ।
पिताको राजनीतिक विरासत बोकेर कांग्रेसको राजनीतिमा सक्रिय रहेका अनुराग खड्का पछिल्लो समय पार्टीको युवा पुस्तामा पनि स्थापित हुँदै आएका छन । लगातार दोस्रो पटक केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएसँगै कांग्रेसको केन्द्रीय राजनीतिमा उनको प्रतिनिधित्वसमेत निरन्तर भएको छ ।



लाइभदाङ । १५ आश्विन २०८३, बिहीबार ०८:१० बजे