
काठमाडौँ , २१ फागुन।
करिब ५ घण्टा मतदान अवरुद्ध भएर फेरी मतदान भएको दोलखाको तामाकोशी गाउँपालिका–४ स्थित गोल्मेश्वर मावि मतदान केन्द्रमा पुन: मतदान नहुने निर्वाचन आयोगले जनाएको छ । विवाद र तनावका बिच फेरी मतदान सम्पन्न भइसकेको र मतपेटिका जिल्ला सदरमुकाम ल्याइसकिएको आयोगले जनाएको छ ।
निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतले दोलखाको उक्त मतदान केन्द्रमा पुनः मतदान गर्नुपर्ने अवस्था नरहेको बताए । उनले भने, ‘तामाकोशीमा निर्वाचन सम्पन्न भएको छ, रि–पोलिङ हुने अवस्था छैन ।’ उनले यसपटक देशभर कुनै पनि मतदान केन्द्रमा पुनः निर्वाचन गर्नुपर्ने स्थिति नरहेको समेत जानकारी दिए ।
गोल्मेश्वर माध्यमिक विद्यालय मतदान स्थलमा कर्मचारी र दलका कार्यकर्ताबिच विवाद उत्पन्न भएपछि मतदान प्रक्रिया बिहानैदेखि बिथोलिएको थियो । विवादकै क्रममा कांग्रेससम्बद्ध केही व्यक्तिले मतपत्रको ठेली लिएर हिँडेपछि स्थिति थप तनावग्रस्त बनेको थियो । अवस्थालाई नियन्त्रणमा लिन प्रहरीले दुई राउन्ड हवाई फायरसमेत गरेको थियो ।
लामो समयसम्म मतदान रोकिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाल कम्युनिस्ट पार्टी (एमाले) का प्रतिनिधिहरूले मतदान स्थल छाडेका थिए ।
विवादअघि करिब ३०० मत खसेकोमा मध्याह्न ४ बजेबाट पुनः मतदान सुरु भएको थियो । तर, लामो अवरोधका कारण धेरै मतदाता घर फर्किसकेकाले मतदान प्रभावकारी हुन सकेको थिएन । २५ सयभन्दा बढी मतदाता रहेको उक्त केन्द्रमा जम्मा ६९८ मत मात्र खसेको थियो । कम मतदान भएका कारण पुनः मतदान हुनसक्ने आकलन गरिए पनि आयोगले त्यसलाई खारेज गर्दै मुचुल्का उठाएर मतपेटिका सदरमुकाम ल्याइएको जनाएको छ ।



लाइभदाङ । २१ फाल्गुन २०८२, बिहीबार २१:४९ बजे