
तुलसीपुर,११ वैशाख ।
दाङको तुलसीपुर उपमहानगरपालिकाले सरसफाई ब्यबस्थापनकालागि टोललाई जिम्मेवार बनाउन थालेको छ । बजार क्षेत्रका वडाहरुका सबै टोल विकास संस्थाहरुलाई जिम्मेवार बनाएमा सरसफाई ब्यबस्थापनमा सहज हुने भन्दै यसरी प्रशिक्षित गर्न थालिएको तुलसीपुर उपमहानगरपालिका सरसफाई तथा फोहरमैला ब्यबस्थापन शाखा प्रमुख रेवा रावतले बताउनुभयो ।“टोल–टोलमा उत्पादन भएको फोहर ब्यबस्थापनमा टोल विकास संस्थाले चासो देखाउनु पर्छ”,उहाँले भन्नुभयो“त्यो भएमा मात्रै पनि धेरै फोहर ब्यबस्थापन हुन्छ ।”
बिहीबार तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ र ९ का करिब ९० वटा टोल विकास संस्थाका प्रतिनिधिहरूलाई फोहोर व्यवस्थापन र यसमा स्थानीय नेतृत्वको भूमिकाबारे विस्तृत सचेतना प्रदान गरिएको हो । शुक्रबार ६ र बजार क्षेत्रका अन्य टोल विकास संस्थाहरुलाई प्रशिक्षण गर्ने कार्यक्रम रहेको रावतले बताउनुभयो ।
वडा नम्बर ९ का अध्यक्ष घनश्याम ढकालको अध्यक्षता तथा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवराज पार्धेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । त्यस अवसरमा प्रमुख अतिथि पार्धेले सरसफाई स्वास्थ्यसंग मात्र नभई प्रतिष्ठासंग पनि जोडिएको बताउनुभयो । उहाँले तुलसीपुर उपमहानगरपालिकामा ग्रामिण क्षेत्रमा सरसफाई व्यवस्थापन सहज देखिएपनि बजार क्षेत्रमा चुनौति बढ्दै गएको बताउनुभयो ।
उहाँले विकासउन्मुख बजारको फोहर व्यवस्थापनमा दीर्घकालिन योजना बन्नुपर्ने बताउनुभयो । कार्यक्रममा प्रशिक्षकका रूपमा रहनुभएका सरसफाई विज्ञ विपिन आचार्य र जनस्वास्थ्य निरीक्षक बिमल केसीले सहभागीहरूलाई प्रशिक्षित गर्नुभएको हो ।
राजश्व शाखाका कुन्ता भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा वडा नम्बर ५ का अध्यक्ष बिरेन्द्र शाह, वडा सदस्य भीम बहादुर केसी, पत्रकार दिपक बोहरा, श्रम संस्कृति पाटीका मधुकर न्यौपाने र बसपार्क खानेपानी उपभोक्ता समितिका सचिव अतिराम विष्ट लगायतले सरसफाई अभियानलाई केवल सरकारी कार्यक्रमका रूपमा मात्र नलिई नागरिकको सामाजिक दायित्वका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिनुभयो ।



लाइभदाङ । ११ बैशाख २०८३, शुक्रबार १०:५० बजे