
तुलबहादुर कवँर मगर
भालुबाङ,१९ माघ।
दाङको राप्ती गाउँपालिकामा विश्व सिमसार दिवसको अवसरमा साेमबार अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
राप्ती गाउँपालिका वन तथा वातावरण इकाइको आयोजनामा तथा नेपाल पन्छी संरक्षण संघको प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा नेपाल पन्छी संरक्षण संघका वन प्राविधिक पृथ्वी चौधरीले सिमसार क्षेत्रको महत्त्व, जैविक विविधता संरक्षण, जलचर तथा पन्छीको आवासका रूपमा सिमसारको भूमिका, जलवायु परिवर्तनले पार्ने असर तथा सिमसार संरक्षणमा समुदायको भूमिकाबारे प्रस्तुतीकरण गर्नुभएको थियो।
उहाँले सिमसार क्षेत्रको संरक्षण नहुँदा वातावरणीय सन्तुलनमा गम्भीर असर पर्ने भन्दै स्थानीय तह र समुदायबीचको सहकार्य अपरिहार्य रहेको बताउनुभयो।
कार्यक्रममा गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर–२ का वडा अध्यक्ष पहलवान चौधरीले मानवीय आचरणका कारण सिमसार क्षेत्रहरू अतिक्रमण, प्रदूषण र विनाशको चपेटामा पर्दै गएको बताउनुभयो। उहाँले सिमसार क्षेत्र संरक्षण नगर्दा जलस्रोत सुक्ने, जैविक विविधता नष्ट हुने तथा स्थानीय जनजीविकामा प्रत्यक्ष असर पर्ने उल्लेख गर्नुभयो।
वडा अध्यक्ष चौधरीले सिमसार क्षेत्र प्राकृतिक सम्पदा मात्र नभई स्थानीय जनजीविकासँग प्रत्यक्ष रूपमा जोडिएको बताउँदै यसको संरक्षणमा सबै सरोकारवालाको सक्रिय सहभागिता आवश्यक रहेको धारणा राख्नुभयो। साथै, सिमसारको महत्त्व, संरक्षणका उपाय र यसले पार्ने प्रभावबारे विषयवस्तु पाठ्यक्रममै समावेश गर्नुपर्ने आवश्यकता औँल्याउँदै सानै उमेरदेखि विद्यार्थीहरूलाई यसबारे शिक्षा दिन सके दीर्घकालीन संरक्षणमा टेवा पुग्ने उहाँको भनाइ थियो।
उहाँले सिमसार संरक्षणका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने, समुदायस्तरमा अभियान चलाउनुपर्ने तथा स्थानीय तहले आवश्यक नीति, कार्यक्रम र बजेटमार्फत संरक्षणका प्रयासलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा गाउँपालिका अन्तर्गत रहेका विभिन्न सामुदायिक वन उपभोक्ता समूहका अध्यक्षहरू, बैखा जलिय जैविक संरक्षण समितिका अध्यक्षहरू तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्यक्रमको सहजीकरण राप्ती गाउँपालिका वन तथा वातावरण इकाइका वन प्राविधिक बिपिन भुसालले गर्नुभएको थियो।



लाइभदाङ । २० माघ २०८२, सोमबार १७:३२ बजे