सार्वजनिक सम्पत्ति व्यवस्थापन तालिमले सेवा प्रवाहमा सुधार ल्याउने अपेक्षा

प्रिया स्मृती गजमेर
देउखुरी,२८ चैत ।
दाङ–लमही नगरपालिका द्वारा सञ्चालन गरिएको सार्वजनिक सम्पत्ति व्यवस्थापनसम्बन्धी एकदिने अभिमुखीकरण तालिमपछि नगरपालिकाको सेवा प्रवाह तथा व्यवस्थापन प्रणालीमा सकारात्मक सुधार आउने अपेक्षा गरिएको छ । तालिमले कर्मचारीहरूलाई नीतिगत, कानुनी तथा संस्थागत व्यवस्थाबारे स्पष्ट ज्ञान प्रदान गरेसँगै अब सार्वजनिक सम्पत्तिको अभिलेख व्यवस्थापन, संरक्षण तथा उपयोग थप व्यवस्थित हुने विश्वास गरिएको छ ।

तालिमबाट प्राप्त ज्ञानले नगरपालिका, स्वास्थ्य संस्था तथा वडा कार्यालयमा कार्यरत कर्मचारीहरूलाई आफ्नो जिम्मेवारी स्पष्ट रूपमा बुझ्न सहयोग पुग्नेछ । यसले सम्पत्तिको दुरुपयोग नियन्त्रण, पारदर्शिता वृद्धि र उत्तरदायित्व मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ । साथै सम्पत्तिको सही मूल्यांकन, मर्मतसम्भार र उपयोगमा सुधार आउँदा अनावश्यक खर्च नियन्त्रण हुने र स्रोतको अधिकतम उपयोग सुनिश्चित हुने अपेक्षा गरिएको छ ।


यस्तै सार्वजनिक सम्पत्तिको एकीकृत विवरण तयार गर्न, डिजिटल प्रणालीमार्फत अभिलेखीकरण गर्न तथा समयमै अनुगमन गर्न सहज हुने देखिएको छ । यसले दीर्घकालीन रूपमा नगरपालिकाको सुशासन प्रवर्द्धन गर्न मद्दत पुर्‍याउने विश्वास गरिएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय दाङका प्रशिक्षक निर्मल पाण्डेबाट प्रदान गरिएको उक्त तालिमले कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्नुका साथै सेवाग्राहीलाई छिटो, छरितो र प्रभावकारी सेवा दिन सहयोग पुग्ने नगरपालिकाको अपेक्षा रहेको छ ।

लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले सार्वजनिक सम्पत्तिको सही व्यवस्थापन नै सुशासनको आधार भएको उल्लेख गर्दै तालिमबाट सिकेका ज्ञानलाई व्यवहारमा उतार्न कर्मचारीहरूलाई आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो, “सार्वजनिक सम्पत्ति जनताको सम्पत्ति हो, यसको संरक्षण र सदुपयोगमा कुनै पनि लापरवाही हुन हुँदैन । तालिमले दिएको ज्ञानलाई व्यवहारमा लागू गरेर सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन सबैले जिम्मेवार बन्नुपर्छ ।” तालिमको सहजीकरण लमही नगरपालिका प्रशासन प्रमुख गायत्री थापाले गर्नु भएको थियो ।