राप्तीमा किशोरीहरुलाई आइरन चक्की वितरण सम्बन्धी वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

तुल बहादुर कवँर मगर
देउखुरी, ३१ जेठ ।
दाङको राप्ती गाउँपालिकामा विद्यालय उमेर समूहका किशोरीहरुलाई आइरन फोलिक एसिड चक्की वितरण सम्बन्धी वार्षिक समिक्षा कार्यक्रम बुधबार पालिकाको सभाहल मसुरीयामा सम्पन्न भएको छ।

पालिकाको स्वास्थ्य शाखाको आयोजना सम्पन्न समिक्षा कार्यक्रममा किशोरीहरुलाई आइरन चक्की खुवाउने विषयमा गतवर्ष सञ्चालित कार्यक्रमको प्रभावकारिता तथा आगामी आर्थिक वर्षमा सञ्चालन गर्न लागिएको कार्यक्रमको बारेमा छलफल तथा जानकारी गराइएको थियो ।

त्यस्तै कार्यक्रममा स्वास्थ्य अधिकृत तथा पोषण कार्यक्रम संयोजक धन बहादुर बुढा क्षेत्रीले विद्यालय तथा पोषण कार्यक्रमका बारेमा सहभागीहरुलाई जानकारी गराउनु भएको थियो ।


कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष कमलापती चौधरीले किशोरीहरुमा हुने रक्तअल्पताको रोकथाम गर्ने उद्देश्यले पालिकाले आइरन चक्की वितरण गरेको उल्लेख गर्दै राज्यको लगानीमा सञ्चालित उक्त कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

पालिकाकी उपाध्यक्ष कमलापती चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख नारायण राउत,शिक्षा शाखाकी प्राविधिक सहायक देवी मल्ल ,शिक्षक गोविन्द पोख्रेल लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

गाउँपालिका अन्तर्गत रहेको सामुदायिक तथा संस्थागतका विद्यालयका प्रधानाध्यापक तथा स्वास्थ्य शिक्षक र विभिन्न स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको कार्यक्रमको सहजीकरण स्वास्थ्य अधिकृत तथा पोषण कार्यक्रम संयोजक धन बहादुर बुढा क्षेत्रीले गर्नुभएको थियो।