कर्णाली पुलबाट हाम फालेका युवाको शव भेटियो

धनगढी, १५ चैत ।
होलीको दिन (१२ चैत) मा चिसापानीस्थित कर्णाली पुलबाट हाम फालेका कैलालीको लम्कीचुहा नगरपालिका–३ का ३० वर्षीय लोकेन्द्रबहादुर शाहीको शव भेटिएको छ ।

टीकापुर नगरपालिका–२ को सनकट्टी घाटमा बिहीबार दिउँसो शाहीको शव फेला परेको कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर बिष्टले जानकारी दिए ।


शाही भेटिएको स्थान कर्णाली पुलबाट करिब १६ किलोमिटरको दुरीमा रहेको एसपी बिष्टले बताए । होलीको दिन पौडी खेल्न कर्णाली पुलबाट १७ जना युवाले सामूहिक रूपमा नदीमा हाम फालेका थिए ।

उनीहरूमध्ये १६ जना पौडी खेलेर बाहिर निस्किए पनि शाही भने बेपत्ता भएका थिए । उनलाई खोज्न सशस्त्र प्रहरीको गोताखोर टोलीसहित स्थानीयबासी र नेपाल प्रहरी खटिएका थिए ।