फराकिलो बन्दैछ, लमही–घोराही सडक

दाङ,२४ चैत ।
दाङको घोराही–लमही सडकखण्डलाई फराकिलो बनाउन थालिएको छ । मोड र साँघुरो स्थानलाई फराकिलो बनाउन थालिएको हो  । साँघुरो सडकका कारण दुर्घटना बढेपछि चालु बर्षमा सक्ने गरि सडक फराकिलो बनाउन थालिएको हो । जोखिमपूर्ण मोडहरू कटान गरेर गाडी सञ्चालन हुँदा दुवैतर्फको सडक देखिने गरि फराकिलो बनाउन थालिएको डिभिजन सडक कार्यालय दाङका प्रमुख दिपेन्द्र विष्टले बताए । उनका अनुसार घोराही उपमहानगरपालिका–३ कुइरेपानीदेखि लमही नगरपालिका–६ अर्जुनखोलासम्मको करिब १७ किलोमिटर सडकखण्डको साँघुरा स्थानलाई फराकिलो बनाउने काम भइरहेको छ ।


जहाँ मोड काट्ने देखि पर्खाल निर्माणको काम भइरहेको छ । जसकालागि २० करोड १३ लाख ५९ हजारबराबरका तीनवटा ठेक्का सम्झौता भएका छन् । घोराही–लमही सडकखण्डअन्तर्गत कुइरेपानीदेखि मसोटखोलासम्मको सडकखण्ड श्री मुनाल–केवी–सुनिल एन्ड विजय जेभी दाङसँग रु १३ करोड ४६ लाख ६१ हजार र मसोटखोलादेखि अर्जुनखोलासम्मको सडकखण्ड रु छ करोड ८० लाख ९० हजारमा सडक विस्तारको काम गर्नेगरी श्री इजी–अलकापुरी जेभीसँग ठेक्का सम्झौता भएको छ ।