राप्तीका कर्मचारीद्वारा कार्यालय परिसरमा सरसफाइ

मसुरिया, २८ असोज।
दाङको राप्ती गाउँपालिकाका कर्मचारीले राष्ट्रिय सरसफाइ सप्ताहअन्तर्गत बुधबार गाउँपालिकाको कार्यालय परिसरमा सरसफाइ गरेका छन्।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश मल्लाहको नेतृत्वमा कर्मचारीहरूले प्रशासनिक भवन परिसरको सरसफाइ गर्दै स्वच्छ, स्वस्थ र व्यवस्थित वातावरण निर्माणको सन्देश दिएका हुन्।

नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशनअनुसार असोज २२ गतेदेखि २८ गतेसम्म सञ्चालन गरिएको राष्ट्रिय सरसफाइ सप्ताहअन्तर्गत गाउँपालिकाले पनि सरसफाइ अभियान सञ्चालन गरेको हो।

अभियानको उद्देश्य गाउँपालिकालाई पूर्ण सरसफाइयुक्त बनाउनुका साथै सरसफाइलाई दैनिक जीवनको अभिन्न अंगका रूपमा विकास गर्नु रहेको छ।


यसका लागि गाउँपालिकाभित्रका सरकारी निकाय, शैक्षिक संस्था, विभिन्न संघसंस्था तथा सरोकारवालालाई आ–आफ्नो कार्यालय, संस्था र परिसरमा सरसफाइ कार्यक्रम सञ्चालन गर्न आग्रह गरिएको थियो।

गाउँपालिकाकी सरसफाइ शाखा प्रमुख गीता चौधरीका अनुसार अभियानले सरसफाइसम्बन्धी सकारात्मक आचरणको विकास गर्ने, न्यून लागतमा अधिकतम प्रतिफल प्राप्त गर्ने तथा सरसफाइका निर्धारित मापदण्डलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने लक्ष्य राखेको छ।

उहाँले सरसफाइलाई अभियानमा मात्र सीमित नराखी नियमित व्यवहारका रूपमा विकास गर्नुपर्नेमा जोड दिँदै स्वच्छ, स्वस्थ र व्यवस्थित वातावरण निर्माणका लागि सबै सरोकारवालाको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो।

गाउँपालिकाले सरसफाइ अभियानलाई प्रभावकारी बनाउन विभिन्न संघसंस्था तथा सरोकारवालालाई आफ्नो क्षेत्र र परिसरमा नियमित सरसफाइ गर्दै अभियानलाई सफल बनाउन आग्रह गरेको छ।