गठबन्धनका उम्मेदवारलाई इमान्दारीपूर्वक मतदान गर्न काँग्रेस नेता विरकेश्वरी गौतमको अपिल

घोराही, १६ कात्तिक ।
नेपाली कांग्रेसका पुराना नेता विरकेश्वरी गौतमले आगामी मंसिर ४ गते हुन थालेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा गठबन्धनका उम्मेदवारहरुलाई मतदान गर्न अपिल गर्नुभएको छ ।

गौतमले राजनीतिक दलहरुले गठबन्धन गरिसकेपछि सबै दलका नेता कार्यकर्ताले इमान्दारीपूर्वक मतदान गर्नु आधारभूत कर्तव्य भएको समेत बताउनुभयो । आफूले जीवनमा सधै निष्ठाको राजनीति गरेको उल्लेख गर्दै गौतमले निष्ठावान नेता तथा कार्यकर्ताले पार्टीको निर्णयलाई शिरोपरण गर्नुपर्ने बताउनुभयो ।


‘दाङ निर्वाचन क्षेत्र नं २ मा गठबन्धनका साझा उम्मेद्वार रेखा शर्मालाई अत्याधिक मत दिएर विजयी गराउनु हुन म सबैमा हार्दिक अनुरोध गर्दछु,’ गौतमले भन्नुभयो, ‘त्यसैगरी दाङ २ (१) मा राजु खनाल र २(२) मा प्रचण्डविक्रम न्यौपानेलाई मतदान गर्नुहुन हार्दिक अनुरोध छ ।’

राजनीति गर्ने मान्छेहरूले सधै इमान र पार्टीको पक्षमा काम गर्नुपर्ने उल्लेख गर्दै पार्टीको निर्णयलाई सबैले पालना गर्नुपर्ने उहाँको भनाइ छ । ‘कसैले पार्टीमा असहमति राख्छ भने निर्णय नहुँदा सम्म हो,’ गौतमले भन्नुभयो, ‘पार्टीले निर्णय गरिसकेपछि कसैले पानी दायाँबायाँ गर्ने छुट हुँदैन ।’